Radio Unity 92.2MHz

डडेल्धुरामा कुनै उम्मेदवारविरुद्ध पनि परेन उजुरी

डडेल्धुरा: डडेल्धुरामा मंगलवार उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलवार मनोनयनपत्र दर्ता भई उम्मेदवारको सूचीमा नाम समावेश भएका उम्मेदवारको विरोधमा उजुरी दिन बुधवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको थियो।

उक्त समय अवधिभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले जानकारी दिए।

८ माघ बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। ९ माघ बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

९ माघ दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ।

जिल्लामा मंगलवार १३ जनाले उम्मेदवारी दर्ता गराएका थिए। नेपाली कांग्रेसबाट नैनसिंह महर, नेकपा (एमाले) बाट चक्रप्रसाद स्नेही, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मानसिह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गोविन्द खडायतले मनोनयन दर्ता गएका छन्।

यस्तै, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगरको उम्मेदवारी परेको छ।

यसैगरी गोरखबहादुर ऐर (गौरव), सुरेन्द्र रावल र तीर्थराज उप्रेतीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ९३ हजार ४०३ मतदाता छन्।

सम्बन्धित पाेष्टहरु
Loading...