डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–४ मा एक महिला मृत फेला परेकी छन्। मृत भेटिनेमा भागेश्वर गाउँपालिका–३ घर भई हाल जिल्ला सदरमुकाममा बसोबास गर्दै आएकी सरिता गिरी (गिरी सानी) रहेको खुलेको छ।
आज बिहान गिरी मृत अवस्थामा फेला परेकी हुन्। उनका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्।
मृत भेटिनुअघि गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो सुसाइड नोट सार्वजनिक गरेकी थिइन्। उक्त नोटमा उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत एक प्रहरीको फोटो तथा भिडियोसमेत संलग्न गरेकी छन्।
नोटमा उल्लेख गरिएका व्यक्ति जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरीका ड्राइभर यज्ञ साउद रहेको बताइएको छ। मृतक महिलाको ती प्रहरीसँग अनैतिक सम्बन्ध रहेको र लामो समयदेखि आफू मानसिक दबाबमा रहेको गिरीले उल्लेख गरेकी छन्।
सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै उनले लेखेकी छन्, ‘मलाई मर्न बाध्य बनाइस्, मरेर के गर्छस् गर भनिस्।’ उनले आफूसँग भएको पैसा र सुनसमेत ती प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्।
नोटमा लेखिएको छ, ‘मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस्। मैले दिएको १५ लाख रुपैयाँ मेरो छोरालाई दिनू। कसैले पढाइ देलान्। आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन, छोरा माफ गरिदिनु। तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनू।’
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी बरुणबहादुर सिंहका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीका चालक साउदलाई नियन्त्रणमा लिइएको छ। परिवारजन आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।
