डडेल्धुरा: प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले चुनावी तयारीलाई तीव्र बनाएको छ। यसैक्रममा सोमबार नवदुर्गा गाउँपालिका कमिटीको महत्वपूर्ण चुनावी रणनीति बैठक सम्पन्न भएको छ।
गाउँस्तरमै संगठन सुदृढीकरण र मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिने उद्देश्यसहित आयोजित बैठकमा स्थानीय तहका नेता–कार्यकर्ता, वडा कमिटी प्रतिनिधि तथा अग्रज पार्टी सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बैठकले निर्वाचन लक्षित अभियानलाई घरदैलो केन्द्रित बनाउने, युवा र पहिलोपटक मतदान गर्ने मतदातामाझ विशेष कार्यक्रम सञ्चालन गर्ने तथा विकासका एजेन्डालाई स्पष्ट रूपमा जनतासामु लैजाने निर्णय गरेको छ।
बैठकमा प्रतिनिधिसभा सदस्यका लागि नेकपाका उम्मेदवार मानसिह मालको समेत उपस्थिति थियो। उनले कार्यकर्ताहरूलाई एकताबद्ध भएर निर्वाचन अभियानमा जुट्न आग्रह गर्दै नवदुर्गाको समग्र विकास, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दालाई प्राथमिकतामा राखेर जनताको विश्वास जित्ने रणनीति अपनाउनुपर्ने धारणा राखे।
उनले भने, ‘चुनाव जित्नु मात्रै हाम्रो उद्देश्य होइन, जनताको भरोसा जित्नु मुख्य कुरा हो। त्यसका लागि हामी गाउँगाउँ पुगेर जनताका समस्या सुन्ने र समाधानको स्पष्ट योजना प्रस्तुत गर्नेछौँ।’
बैठकले टोल–टोलमा निर्वाचन परिचालन समिति गठन गर्ने, प्रचारप्रसारलाई व्यवस्थित बनाउने तथा सामाजिक सञ्जालमार्फत पनि सशक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी सचेत र सकारात्मक मतदान वातावरण बनाउन जोड दिने बैठकले निष्कर्ष निकालेको छ।
नेकपा डडेल्धुराले यसपटक गाउँ केन्द्रित अभियानलाई विशेष प्राथमिकता दिँदै संगठन विस्तारसँगै जनविश्वास मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ। नवदुर्गाबाट सुरु गरिएको यस्तो कार्यक्रम अन्य स्थानीय तहमा समेत क्रमशः सञ्चालन गरिने पार्टीले जनाएको छ।

