डडेल्धुराः नेपालको शिक्षा प्रणालीका विषयमा विभिन्न बहस भइरहने गरेका छन्। भिन्न भिन्न प्रकृतिका शिक्षक, भिन्न भिन्न प्रकृतिका विद्यालय तथा विद्यालयहरुले प्रदान गर्ने शिक्षामा समेत भिन्नता रहेका तर्क वितर्क छन्।
यसैबीच डडेल्धुरामा भने सरकारी विद्यालयको जग मानिने प्रारम्भिक बालविकास केन्द्रदेखि नै शिक्षामा गुणस्तर सुधार गर्नुपर्ने भन्दै सुधारको थालनी गरिएको छ। विद्यालय शिक्षाको जग मानिने प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूलाई शिक्षाको गुणस्तर सुधारका लागि डडेल्धुरामा विभिन्न सीप विकास गरिन थालेको हो।
सामाजिक विकास कार्यालय डडेल्धुराले जिल्लाका २८ जना शिक्षकको सीप विकास गरिरहेको छ। शुक्रबारदेखि पाँचदिने तालिममार्फत प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूलाई पढाइसम्बन्धी नयाँ नयाँ सीप प्रदान गरिन थालिएको छ। निजी विद्यालय सरह सरकारी विद्यालयको गुणस्तर कायम गर्न र सरकारी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउनका लागि कार्यक्रम प्रभावकारी हुने बताइएको छ।
प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूलाई पठनपाठनका साथै शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी व्यवहारिक ज्ञान तथा सिप प्रदान गरिएको कार्यक्रमका सहभागी शिवशंकर मावि साँदनीकी प्रारम्भिक बालविकास केन्द्र शिक्षक विजया घर्तीले बताइन्।
तालिमले कक्षा कोठाको सिकाइ प्रभावकारी बनाउन सहयोग पुग्ने कार्यक्रममा सहभागी वैजनाथ मावि जमरानीकी प्रारम्भिक बालविकास केन्द्र शिक्षक शान्ति कुमारी महताको विश्वास छ। यसका साथै जिम्मेवारी बोध गराइनुका साथै दायित्वका विषयमा समेत जानकारी पाएको सहभागी पासा आधारभूत विद्यालयकी प्रारम्भिक बालविकास केन्द्र शिक्षक पद्मा भट्टले बताइन्। उनले माथिल्लो कक्षाहरूभन्दा पनि प्रारम्भिक बालविकास केन्द्रमा शिक्षणको महत्व बढी भएको बताइन्।
विद्यार्थीहरूका लागि विभिन्न स्थानिय शैक्षिक सामग्री निर्माण गरि पठनपाठन गर्न सीप अभिवृद्धि भएको सरस्वती मावि भित्रीसैनीकी शिक्षक तारादेवी चोखालले बताइन्।
कार्यक्रममा बालमैत्री शिक्षण सिकाइ विधि, स्थानीय स्रोतसाधनको प्रयोग गरी शिक्षण सामग्री तयार गर्ने तरिका तथा बालबालिकाको सर्वाङ्गीण विकासमा खेल र सिर्जनात्मक गतिविधिको बिषयमा जानकारी गराइएको मुख्य प्रशिक्षक सरला ठकुराठीले बताइन्।
पाँचदिने तालिमले प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुको पढाइ सीप विकासमा निखारता ल्याउनुका साथै शिक्षकहरुको व्यवहारिक ज्ञान समेत अभिवृद्धि हुने प्रशिक्षक ज्ञानु थापाले बताइन्।
भौतिक विकासमा मात्र नभई शिक्षाको गुणस्तर विकासका लागि समेत यसवर्ष कार्यक्रम सुरु गरिएको सामाजिक विकास कार्यालय डडेल्धुराले जनाएको छ। प्रारम्भिक तहको शिक्षा मजबुत बनाउँदै दीर्घकालीन रूपमा शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास कार्यालयले लिएको कार्यालय प्रमुख मीनबहादुर लामिछानेले बताए।
कार्यक्रमा जिल्लाका ७ वटै स्थानीय तहका २८ जना प्रारम्भिक बालविकास केन्द्रका शिक्षकको सहभागिता छ।





