डडेल्धुरा: डडेल्धुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान माघ २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। मंगलवार स्वास्थ्य कार्यालय डडेल्धुराले आयोजना गरेको जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरूसँग गरिएको अन्तरक्रियामा सो जानकारी दिइएको हो।
विद्यालय केन्द्रित एचपीभी खोप अभियानअन्तर्गत जिल्लाभरका एक हजार ५१६ किशोरीलाई खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँदका अनुसार जिल्लाका सातवटै स्थानीय तहका कक्षा ६ मा अध्ययनरत छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू यस अभियानको मुख्य लक्षित समूह हुन्।
साथै, गतवर्ष सञ्चालित एचपीभी खोप अभियानका क्रममा छुटेका लक्षित समूहका छात्रा किशोरीहरूमध्ये हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पनि यसपटक खोप लगाइने उनले बताए। जिल्लाभर खोप अभियानका लागि आवश्यक तयारी करिब पूरा भइसकेको उनले जानकारी दिए।
किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको उनको भनाइ छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार यो भाइरस यौन सम्पर्कमार्फत सर्ने भएपनि किशोरावस्थामै खोप लगाए भविष्यमा क्यान्सर हुने जोखिम अत्यन्त न्यून हुन्छ। विशेषगरी १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूमा खोप प्रभावकारी हुने भएकाले यही उमेर समूहलाई लक्षित गरी एचपिभी खोप कार्यक्रम सञ्चालन गरिँदै आएको हो।
जिल्लामा कक्षा ६ मा अध्ययनरत एक हजार ४४३ छात्रा, गतवर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म ३४ जना तथा विद्यालय नजाने १० वर्षका २२ जना र गतवर्ष छुटेका ११ देखि १४ वर्ष उमेरका १७ किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार अभियान सञ्चालनका लागि १२१ जना स्वास्थ्यकर्मी र १५१ जना स्वयंसेवक परिचालन गरिनेछ।
खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले एचपीभी खोप पाठेघरको मुखको क्यान्सरबाट जोगाउन प्रभावकारी भएकाले अभिभावक र विद्यालयलाई सक्रिय सहयोग गर्न आग्रह गरे। तीनै तहका सरकारबीच समन्वय र सक्रियता आवश्यक रहेको उल्लेख गर्दै उनले अभियानलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने बताए।
कार्यक्रममा सरोकारवालाहरूले एचपीभी खोप पाठेघरको मुखको क्यान्सरबाट जोगाउन प्रभावकारी भएकाले लक्षित समूहका सबै किशोरीले अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा जोड दिएका छन्। अभियान अवधिभर खोप सेवा तोकिएका विद्यालय तथा खोप केन्द्रमार्फत निःशुल्क उपलब्ध गराइने स्वास्थ्य कार्यालयले जनाएको छ।
समयमै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्यरूपमा घट्ने भएकाले अभिभावक, विद्यालय र समुदायलाई अभियानमा सक्रिय सहयोग गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
