डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ देवलका गगन सिं खड्काले ७० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले बुधवार उनलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता हस्तान्तरण गरेका हुन्।
वि.सं. २०१२ माघ १५ गते जन्मिएका खड्का १६ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका थिए। त्यसपछि उनको जीवन भारतका विभिन्न ठाउँमा मजदुरी गर्दै बित्यो। उनले भारतको एक कम्पनीमा मात्रै १२ वर्षसम्म चौकीदारी काम गरेको बताए। लामो समय विदेशमै बस्दा उनी परिवारको सम्पर्कबाहिर थिए।
घरपरिवारमा उनी फर्किएर आउने आशा लगभग समाप्त भइसकेको थियो। तर ५५ वर्षपछि यहीँ माघ १६ गते भारतको गुजरातबाट उनी आफ्नो जन्मघर फर्किए। गाउँलेहरूका लागि यो आश्चर्य र खुसीको क्षण थियो। सबैभन्दा भावुक दृश्य भने उनकी ९९ वर्षीया आमा सिंजीदेवी खड्काको थियो। दशकौँअघि हराएको छोरो बुढेसकालमा फर्किएर आफ्नै आँखाअगाडि देख्दा उनी भावुक बनिन्।
गगनले नेपाल फर्किएपछि आफूले नागरिकता बनाउनैपर्छ भन्ने महसुस भएको बताए। ‘अब जीवनको बाँकी समय आफ्नै गाउँमै बिताउने सोच बनाएको छु,’ उनले भने। गाउँका मान्छेहरूले बुढेसकालमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबारे जानकारी दिएपछि उनी नागरिकता बनाउन आफ्ना भाइसँगै प्रशासन कार्यालय पुगेका थिए।
वडा कार्यालयको सिफारिस र आवश्यक प्रक्रिया पूरा भएपछि उनले नेपाली नागरिकता पाएका हुन्। नागरिकता हातमा लिएपछि उनको अनुहारमा देखिएको सन्तोषले दशकौँको परदेश बसाइपछि मातृभूमिसँगको सम्बन्ध फेरि जोडिएको अनुभूति झल्किन्थ्यो।


