डडेल्धुरा: क्याम्ब्रिज पब्लिक स्कुलले शुक्रवार आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्यरूपमा मनाएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, अभिभावकहरूको सहभागिता र विद्यालय परिवारको सक्रियताले उत्सवलाई विशेष बनाएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, सचेतनामूलक नाटक तथा प्रस्तुति मार्फत आफ्नो कला देखाए। साथै, आयोजित विज्ञान प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनशीलता, खोजमूलक सोच र प्रविधिप्रतिको चासो उजागर गरेको थियो।
कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न खेलेको भूमिकाको प्रशंसा गरिन्। उनले शिक्षा केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहारिक सीप, नैतिक मूल्य र सामाजिक जिम्मेवारीसँग जोडिनुपर्ने बताइन्।
विद्यालयका प्रिन्सिपल हर्केशबहादुर साँकीले १६ वर्षको शैक्षिक यात्राबारे जानकारी दिँदै विद्यार्थीको सर्वाङ्गीण विकास विद्यालयको मुख्य उद्देश्य रहेको बताए।
उनले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यले विद्यालयलाई यहाँसम्म ल्याउन सम्भव भएको उल्लेख गरे। कार्यक्रममा शिक्षा समन्वय एकाइ डडेल्धुराका प्रमुख खडक महता ले विद्यालय र अभिभावकबीचको सहकार्यले शिक्षाको गुणस्तर सुधार हुने धारणा व्यक्त गरे।
उक्त अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक–शिक्षिकाहरू, विद्यालयको विकासमा योगदान पुर्याएका अभिभावक तथा पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, सरोकारवाला निकायका प्रतिनिधि, पूर्वविद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ।




