Radio Unity 92.2MHz

डडेल्धुराको बसनाका जयदेवको १५ वर्षे मूर्तिकला यात्रा : वार्षिक कमाइ ३ लाखसम्म

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका–२, बसनाका ५३ वर्षीय जयदेव चुनाराका हातले निर्जीव वस्तुलाई आस्थाको रूप दिन्छन्।

‘कसैले शिवजी, कसैले गणेशजी, कसैले सनी भगवान् त कसैले बाघको आकृति माग्छन् उनी मुस्कुराउँदै भन्छन्, ‘जसले जे मूर्ति भन्यो, त्यहीँ बनाउँदै आएको छु।’

पछिल्ला १५ वर्षदेखि मूर्ति बनाउँदै आएका जयदेव पहिले घर बनाउने र काठ मिलाउने काम गर्थे। दैनिकी श्रमबाट सुरु भएको यात्रा अहिले श्रद्धा र कलासँग जोडिएको पेशामा रूपान्तरण भएको छ। उनी अहिले ‘समैजी मूर्तिकला घरेलु उद्योग’ सञ्चालन गर्दै आएका छन्।

जयदेव ढुंगा, सिमेन्ट र काठ तीनै माध्यममा मूर्ति बनाउँछन्। विशेषगरी मन्दिरका लागि बनाइने मूर्तिहरूमा उनको माग बढी हुने गरेको उनले बताए। धार्मिक आस्थासँग जोडिएका शिवजी, गणेशजी, सनी भगवान्जस्ता मूर्तिदेखि बाघजस्ता कलात्मक आकृतिसम्म उनले बनाएका छन्।

प्रत्येक मूर्ति बनाउँदा उनी आकार मात्र होइन, भाव पनि दिन खोज्छन्। उनी भन्छन्, ‘मूर्ति बनाउनु भनेको हातको मात्रै काम होइन, मनको काम पनि हो।’

मूल्य, मेहनत र सीमित उत्पादन

एउटा मूर्ति बनाउन दुईदेखि तीन महिनासम्म लाग्ने गरेको चुराना बताउँछन्। त्यसैले उनले बनाउने मूर्तिको मूल्य ८० हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ। तर समय, सामग्री र श्रमको कारण उनी वर्षमा तीन–चार वटा मात्रै मूर्ति बनाउन सक्छन्।

उनको वार्षिक कमाइ करिब तीन लाख रुपैयाँसम्म पुग्छ। उनी त्यहीँ आम्दानीले घरखर्च र औषधि उपचार खर्चसमेत चलाउँछन्।

सहयोग नपाएको पीडा

यति लामो समयदेखि कला जोगाइरहेपनि उनले कुनै सरकारी वा संस्थागत सहयोग नपाएको गुनासो गर्छन्। ‘सीप छ, काम गर्छु, तर अगाडि बढ्न साथ दिने कोही छैन,’ उनी भन्छन्, ‘स्थानीय सरकारले पनि मेरो कलालाई सम्मान गरेको छैन। न त सहयोग नै गरेको छ।’

उनले बनाएका मूर्तिहरू डडेल्धुरा, बैतडी, बझाङ, कैलाली र कञ्चनपुरसम्म पुगेका छन्। ग्रामीण परिवेशबाट निस्किएको कला टाढाटाढासम्म पुग्दा उनलाई गर्व लाग्छ। उमेर बढ्दै जाँदा उनको एउटा चिन्ता बढ्दो छ। उनी भन्छन्,–‘यो सीप सिक्ने मान्छे कम छन्, पछि हराएर जाने हो कि भन्ने डर लाग्छ।’

उनको चाहना छ, नयाँ पुस्ताले यो सीप सिकून् र मूर्तिकला गाउँमै जीवित रहोस्। बसनाको शान्त गाउँमा, सानो कार्यशालाभित्र, काठ, ढुंगा र सिमेन्टबाट देवताका आकृति जन्माइरहेका जयदेव केवल कारीगर मात्र होइनन्, उनी परम्परा, आस्था र संघर्षका जीवित प्रतिमूर्ति हुन्।

सम्बन्धित पाेष्टहरु
Loading...