Radio Unity 92.2MHz

डडेल्धुरामा निर्वाचनको पाँच दिन अघिदेखि ड्रोन उडानमा प्रतिबन्ध

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर ड्रोन उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मतदान मितिभन्दा पाँच दिन अघिदेखि जिल्लामा ड्रोन प्रयोग गर्न नपाइने भएको हो। प्रशासनले बुधवार जारी गरेको सूचनाअनुसार मानवरहित हवाई उपकरण ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम यसअघि अनुमति लिएर सञ्चालनमा रहेका ड्रोनसमेत निषेधित हुनेछन्।

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले बताए ।

माघ २७ गतेको निर्णयअनुसार निर्वाचन हुनुभन्दा पाँच दिन अगाडिदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म जिल्लाभर कुनै पनि प्रकारका ड्रोन उडान गर्न पाइने छैन। यसअघि अनुमति प्राप्त गरेका व्यक्ति वा संस्थाले पनि उक्त अवधिमा ड्रोन सञ्चालन गर्न नपाउने स्पष्ट पारिएको छ।

प्रशासन कार्यालयले सुरक्षाको संवेदनशीलतालाई बुझेर निर्णयको पूर्ण पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ।

प्रशासनले जारी गरेको सूचना–

सम्बन्धित पाेष्टहरु
Loading...