Radio Unity 92.2MHz

एमाले डडेल्धुराका उम्मेदवार स्नेहीद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

डडेल्धुरा: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) डडेल्धुराका उम्मेदवार चक्रप्रसाद स्नेहीले आफ्नो पाँच वर्षे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। ‘सबल र सक्षम नेतृत्वको पहिचान, समृद्ध डडेल्धुराका लागि सूर्य चिह्नमा मतदान’ भन्ने नारासहित उनले मतदातासँग समर्थन माग गरेका हुन्।

प्रतिबद्धतापत्रमार्फत स्नेहीले वर्तमान राजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सचेत मतदाताको निर्णयले देशलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरेका छन्। उनले आफू विगतमा राष्ट्रियसभा सदस्यका रूपमा संघीय संसदमा काम गरेको अनुभवलाई जिल्लाको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले देशका लागि कानून निर्माण, सरकारका कामकारबाहीमाथि निगरानी, नीति तथा बजेट निर्माणमा सक्रिय भूमिका, शिक्षा,स्वास्थ्य सुधार, रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, कृषि, जलस्रोत, जडीबुटी र पर्यटन विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्। साथै संसदीय कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने योजना पनि अघि सारेका छन्।

डडेल्धुराको विकासतर्फ सडक, पुल, खानेपानी, सिंचाइ, विद्युत, सञ्चार तथा एकीकृत नमुना बस्ती निर्माण गर्ने, प्रविधिमैत्री विद्यालय विकास गर्ने, डडेल्धुरा अस्पताल स्तरोन्नति गरी मेडिकल कलेज सञ्चालनका लागि पहल गर्ने र पालिका तहमा आधारभूत अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्न पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

त्यस्तै बाढीपहिरो, भूमि समस्या, वातावरण संरक्षण र बसाइँसराइ जस्ता स्थानीय समस्याको समाधान, जिल्लाका गौरवका योजनामा संघीय बजेट सुनिश्चित गर्ने, केन्द्र, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउने तथा खेलकुद पूर्वाधार र युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।

स्नेहीले आफू जनताको आवाज बन्ने, नियमित भेटघाट तथा सार्वजनिक सुनुवाइमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, महिला, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति तथा युवाका मुद्दा सम्बोधन गर्ने र सीप विकास तथा उद्यमशीलतामार्फत रोजगारी प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संविधानको रक्षा, विधिको शासन, सुशासन, पारदर्शिता, लोकतन्त्र सुदृढीकरण तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयलाई समेत उनले आफ्नो राजनीतिक तथा नैतिक जिम्मेवारीका रूपमा अघि सारेका छन्।

यस्तो छ स्नेहीको पाँच वर्षे प्रतिबद्धतापत्र– 

सम्बन्धित पाेष्टहरु
Loading...