डडेल्धुरा: प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १३ जना उम्मेदवार रहेको डडेल्धुरा जिल्लामा चारजना उम्मेदवारले अझैपनि बैंक खाता खोलेका छैनन्।
निर्वाचन आचारसंहिताले अनिवार्य गरिएको बैंक खाता सञ्चालन सम्बन्धी प्रावधान अनुसार डडेल्धुरामा नौ जना उम्मेदवारले मात्र खाता खोलेका छन्। भने चार जना उम्मेदवारले खाता नखोली निर्वाचन आचारसंहिता पूर्ण पालना नगरेको पाइएको छ।
निर्वाचन आचारसंहिताले उम्मेदवारले चुनावी खर्च पारदर्शी र अभिलेखयोग्य बनाउन छुट्टै बैंक खाता खोल्नुपर्ने तथा सबै प्रकारका आम्दानी–खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। नगद कारोबार न्यूनिकरण गर्दै आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले यस्तो प्रावधान राखिएको हो।
डडेल्धुरा जिल्लाका आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दिपेन्द्र ओझाका अनुसार अझै चार जना उम्मेदवारले बैंक खाता सञ्चालन गरेका छैनन्। खाता सञ्चालन नगर्नेमा उम्मेदवारहरुमा चन्द्रदेव विक (राष्ट्रिय जनमोर्चा), खडक बहादुर ठकुराठी (आम जनता पार्टी), लक्ष्मी भट्ट (जय मातृभूमी पार्टी) र स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐर रहेका छन्।
निर्वाचन कार्यतालिका अनुसार अनिवार्य रूपमा खाता सञ्चालन गरिसक्नुपर्ने भएपनि तोकिएको समयसम्म पनि खाता नखोलिएको ओझाले जानकारी दिए । उनका अनुसार तोकिएको समयभित्र खाता नखोल्नु निर्वाचन आचारसंहिता विपरीतको कार्य हो। उनले सबै उम्मेदवारलाई यथाशीघ्र खाता सञ्चालन गरी आचारसंहिताको पूर्ण पालना गर्न आग्रहसमेत गरेका छन्।
निर्वाचन अवधिभर हुने प्रचारप्रसार, सभा–सम्मेलन, सवारी साधन प्रयोग, प्रचार सामग्री उत्पादन तथा वितरण लगायत सम्पूर्ण खर्च विवरण बैंक खातामार्फत पारदर्शी रूपमा देखिनुपर्ने व्यवस्था छ। डडेल्धुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
बैंक खाता सञ्चालन जस्ता प्रावधानले निर्वाचन खर्चको अनुगमन, लेखापरीक्षण तथा सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। जिल्लामा आचारसंहिता कार्यान्वयनको अवस्थाबारे नियमित अनुगमन गरिरहेको समेत ओझाले बताए।
नयाँ व्यवस्थाअनुसार २५ हजार रुपैयाँभन्दा बढीको कुनैपनि आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंकमार्फत नै गर्नुपर्नेछ। नेपाली नागरिक वा संगठित संस्थाबाट प्राप्त हुने स्वेच्छिक सहयोगलाई पारदर्शी बनाउन रसिदको व्यवस्था गरिएको छ।
निर्वाचन आचारसंहिताको दफा १६ ले खर्चको विवरण र बिल भरपाई तोकिएको समयभित्र आयोगमा बुझाउनुपर्ने समेत व्यवस्था गरेको छ। डडेल्धुराका उम्मेदवारले अधिकतम ३१ लाख खर्च गर्न पाउने कानूनी व्यवस्था समेत रहेको छ।