Radio Unity 92.2MHz

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने डडेल्धुराका सरोकारवालाहरूको प्रतिबद्धता

डडेल्धुरा: डडेल्धुराका राजनीतिक दल तथा सरोकारवालाहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।

शनिवार जिल्ला निर्वाचन कार्यालय डडेल्धुराको आयोजना तथा लू निभाः बालसरोकार समूहको सहकार्यमा आयोजित निर्वाचन आचारसंहिता, बालअधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रममा ८ बुँदे प्रतिबद्धता गरिएको हो।

निर्वाचनकेन्द्रित गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने भन्दै प्रतिबद्धतामा हस्ताक्षरसमेत गरिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य सरोकारवालाहरूले पनि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।

प्रतिबद्धताअनुसार बालबालिकालाई राजनीतिक दल वा उम्मेदवारको जुलुस, र्‍याली तथा प्रचारप्रसारमा संलग्न नगराउने, पर्चा–पोस्टर टाँस्ने, बोक्ने, पाल टाँग्ने, खाना बनाउने, बिजुलीसम्बन्धी काम गर्ने, भाँडा माझ्ने, पानी ल्याउने–खुवाउनेलगायतका कार्यमा श्रमिकका रूपमा प्रयोग नगर्ने उल्लेख छ।

त्यस्तै राजनीतिक आस्थाका आधारमा द्वन्द्व सिर्जना गर्ने, हुलहुज्जत गराउने वा झगडा गराउने कार्यमा बालबालिकालाई प्रयोग नगर्ने, निर्वाचनसँग सम्बन्धित कुनै पनि गतिविधिमा हतियार ओसारपसार वा बोकाउने काम नगर्ने प्रतिबद्धता जनाइएको छ।

निर्वाचन बहिष्कार वा राजनीतिक गतिविधिका नाममा मतदाता आउने बाटो अवरुद्ध गर्न लगाउने, मतदातालाई अलमल्याउनेजस्ता कार्यमा बालबालिकालाई प्रयोग नगर्ने, विद्यालयका विद्यार्थीहरूको समिति वा समूह गठन गरी निर्वाचन प्रचार वा बहिष्कारका लागि परिचालन नगर्नेमा समेत सहमति गरिएको छ।

यसैगरी चन्दा संकलनका कार्यमा बालबालिकालाई प्रयोग नगर्ने, जासुसी, खबरदारी, सुराकी, सूचना वाहक वा विरोधी समूहका रूपमा प्रयोग नगर्ने प्रतिबद्धता पनि सरोकारवालाहरूले जनाएका छन्।

कार्यक्रममा चुनावी प्रचारप्रसारका क्रममा जनप्रतिनिधिको सहभागिता, सरकारी सवारीसाधनको दुरुपयोग तथा बालबालिकाको प्रयोगजस्ता गतिविधि आचारसंहिता विपरीत भएको विषय उठाइएको थियो। सहभागीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्न विशेष आग्रह गरेका थिए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अम्बरबहादुर वलीले राजनीतिक दल, उम्मेदवार, सरकारी कर्मचारी, सञ्चारकर्मी तथा सञ्चारमाध्यमले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका प्रमुख प्रावधानहरू प्रस्तुत गरेका थिए।

बालबालिका प्रयोगसम्बन्धी लू निभाः बालसरोकार समूह डडेल्धुराका जिल्ला कार्यक्रम संयोजक धर्मसिंह ऐरले निर्वाचन प्रक्रियामा बालबालिकाको प्रयोग बालअधिकारविपरीत हुने कुरा उल्लेख गरे।

अधिवक्ता युवराज जोशीले बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गर्न कानुन रूपमा निषेध रहेको प्रष्ट पार्दै उल्लंघन भए कानुनी कारबाहीको दायराबारे स्पष्ट गरे।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले उम्मेदवार तथा राजनीतिक दललाई सुरक्षा दिन प्रशासन पूर्ण रूपमा तयार रहेको बताउँदै मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरे । उनले आचारसंहिता उल्लङ्घन भएमा कानुनी कारबाही हुनसक्ने चेतावनीसमेत दिए।

मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले अन्य जिल्लाको तुलनामा डडेल्धुरामा निर्वाचन आचारसंहिता पालना राम्रो रहेको दाबी गर्दै विगतका निर्वाचनभन्दा यसपटक पालनामा सुधार देखिएको बताए। उनले सबै पक्षको सहयोगले मात्रै निर्वाचन प्रक्रिया थप व्यवस्थित बन्ने उल्लेख गरे।

कार्यक्रमका सहभागीहरूले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन वातावरण निर्माणका लागि सबै राजनीतिक दल, उम्मेदवार र समुदाय जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।

 

सम्बन्धित पाेष्टहरु
Loading...