डडेल्धुरा: नेकपा (एमाले) डडेल्धुरा जिल्ला कमिटीले पार्टीले कुनै अन्य दल वा उम्मेदवारलाई सहयोग गर्ने गरी गोप्य सहमति गरेको भन्ने प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सो पार्टीले त्यस्तो प्रचार झुटो र अफवाह मात्रै भएको स्पष्ट पारेको छ।
शनिवार जिल्ला कमिटीद्वारा जारी प्रेस विज्ञप्तिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट प्रत्यक्ष उम्मेदवार चक्रप्रसाद स्नेहीसहित पार्टी पंक्ति घरदैलो अभियानमा सक्रिय रहेको र मतदाताबाट सकारात्मक समर्थन प्राप्त भइरहेको उल्लेख गरिएको छ।
एमालेका केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा र जिल्ला अध्यक्ष गजेन्द्र शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् लोकतान्त्रिक प्रतिस्पर्धाबाट अत्तालिएका केही राजनीतिक दल र नेताहरूले एमालेको बढ्दो जनमतलाई कमजोर बनाउन नियोजित रूपमा भ्रम फैलाएको आरोप लगाइएको छ।
एमाले डडेल्धुराले पार्टी नेतृत्व जिल्लाको समृद्धि र नागरिक सेवामा केन्द्रित रहेको बताउँदै स्वच्छ प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने लक्ष्यसहित चुनावी मैदानमा रहेको जनाएको छ।
पार्टीले डडेल्धुराका मतदाता, शुभेच्छुक, समर्थक तथा कार्यकर्तालाई दुष्प्रचारको भ्रममा नपरी एमालेको पक्षमा मतदान गरी अत्यधिक मतले विजयी गराउन अपिल गरेको छ।
प्रेस विज्ञप्ति
