डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ललाई पार्टीमा फर्किन आग्रह गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्न आह्वान गरेको छ।
जिल्ला सभापति भीमबहादुर साउदद्वारा आइतवार जारी अपिलमा पार्टीको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका तत्कालीन सभापति मल्लसहित उपसभापति करुणाकर भट्ट, नेताद्वय हरिप्रसाद भट्ट र भरत नेपालीलगायत सबै नेता तथा क्रियाशील सदस्यलाई पार्टीको निर्णयअनुसार जिम्मेवारी सम्हालेर सक्रिय हुन अनुरोध गरिएको छ।
हाल यी नेताहरू नेपाली कांग्रेस (बीपी) मा सक्रिय छन्। उनीहरू जिल्ला अधिवेशनमा आफूहरूलाई बाइपास गरेको भन्दै कार्यकर्तासहित कांग्रेस बीपीमा गएका थिए।
अपिलमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरलाई विजयी गराउन आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न विशेष आग्रह गरिएको छ। पार्टी एकता सुदृढ गर्दै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट बनाउन सबैलाई कांग्रेसको छातामुनि गोलबद्ध हुनसमेत आह्वान गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।
