Radio Unity 92.2MHz

डडेल्धुरामा निर्वाचन आचारसंहिता र मिडिया अन्तरक्रिया, जिम्मेवार पत्रकारितामा जोड

डडेल्धुरा: डडेल्धुरामा निर्वाचन आचारसंहिता र मिडियाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको संयोजनमा अन्तरक्रिया गरिएको हो।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य पदमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला प्रमुख अतिथि र मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइराला विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा निर्वाचन आचारसंहिता पालनामा मिडियाको भूमिका, जिम्मेवारी र चुनौतीका विषयमा विस्तृत छलफल गरिएको थियो।

मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिसकिएको र सहायक कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढिरहेको बताए। उनले आचारसंहिता उल्लंघनका छिटपुट घटना देखिए पनि समयमै सचेत गराएर सुधार गरिएको स्पष्ट पारे।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले डिजिटल माध्यममार्फत फैलिन सक्ने भ्रामक सूचना नियन्त्रण गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै जिम्मेवार र तथ्यपरक पत्रकारिताको खाँचो औंल्याए। डडेल्धुरा विगतदेखि नै शान्त र अनुशासित जिल्लाका रूपमा परिचित रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लास्थित सञ्चारमाध्यम र पत्रकारहरूले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्दै जिम्मेवार पत्रकारिताको उदाहरण प्रस्तुत गरेको बताए। उनले निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषणमार्फत निर्वाचन वातावरण स्वच्छ राख्न जिल्लाका पत्रकारहरू प्रतिबद्ध रहेको धारणा राखे।

तर, उनले निर्वाचन सम्बन्धी जनचेतनामूलक सूचना–सन्देश प्रकाशन तथा प्रसारणका लागि स्थानीय सञ्चारमाध्यमलाई आवश्यक बजेट उपलब्ध नगराइएकोप्रति दुःख व्यक्त गरे। ‘निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण पर्व हो, तर यससम्बन्धी आधिकारिक सूचना प्रवाहका लागि सञ्चारमाध्यमलाई बजेट नदिइनु दुर्भाग्यपूर्ण हो,’ उनले भने।

बोर्ड सदस्य जोशीले देशका विभिन्न जिल्लामा यस्तै कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै निर्वाचन अवधिमा आचारसंहिता पालना गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरे।

कार्यक्रममा जिल्लास्थित क्रियाशील पत्रकारहरूको सहभागी रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...