डडेल्धुरा: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेल्धुरामा यसपटक ५.४३ प्रतिशत मत बदर भएको छ।
जिल्लामा कुल ४५ हजार ५ सय ४३ मत खसेकोमा ४३ हजार ६७ मत सदर भएका छन् भने २ हजार ४ सय ७६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ।
यसअघिको २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने जिल्लामा ६.२२ प्रतिशत मत बदर भएको थियो। उक्त निर्वाचनमा ५१ हजार २०३ मत खसेकोमा ४८ हजार १६ मत सदर र ३ हजार १८७ मत बदर भएका थिए।
एउटै मतपत्रमा तीन ठाउँमा औँठाछाप
मतगणनाका क्रममा एउटै मतपत्रमा तीन ठाउँमा औँठा छाप लगाइएको समेत भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सहायक निर्वाचन अधिकृत गणेशबहादुर विष्टका अनुसार केही मतपत्रमा दुई वा सोभन्दा बढी चुनाव चिन्हमा मत संकेत गरिएको पाइएको थियो।
त्यस्तै, कतिपय मतपत्रमा कुनै पनि चिन्हमा मत संकेत नगरी खाली नै छाडिएका मतपत्रहरू समेत भेटिएको उनले बताए। एकै मतपत्रमा धेरै ठाउँमा औँठाछाप लगाउने तथा खाली मतपत्र भेटिनुजस्ता घटनाले मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको संकेत गरेको छ।