- प्रकाश पार्की
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका २०६ उम्मेदवारमध्ये १५० जनाको जमानत जफत भएको छ। प्रदेशका नौवटै जिल्लाका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा चुनावमा उठेकामध्ये १५० जनाको जमानत जफत भएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीका पाँचवटा निर्वाचन क्षेत्रमा ७५ जना उम्मेदवारमध्ये ५८ जनाको जमानत जफत भएको छ। कैलाली १ मा १८ उम्मेदवारमध्ये १५ जनाको जमानत जफत भएको छ। यहाँ एमाले उम्मेदवार द्वारिका न्यौपाने, उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरलगायतले धरौटी जोगाउन सकेनन्।
कैलाली २ मा १५ उम्मेदवारमध्ये ११ जनाको जमानत जफत भएको कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए। उनका अनुसार यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नन्दबहादुर साउँद, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतसिंह विसी (बुढाक्षेत्री), २ मत मात्रै पाएकी मितेरी पार्टी नेपालकी उम्मेदवार सम्झना विष्ट थापाको पनि जमानत जफत भएको छ।
पूर्वमन्त्री चौधरीको जमानत जफत
कैलाली ३ मा ११ उम्मेदवारमध्ये ७ जनाको जमानत जफत भएको छ। जसमा पूर्वमन्त्री एवं एमाले उम्मेदवार गौरीशङ्कर चौधरी, राष्ट्रिय जनमोर्चाका देशराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बम, नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही, नेकपा (माओवादी)का अर्जुनप्रसाद कठरिया लगायत छन्।
कैलाली ४ मा १६ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ। जमानत जफत हुनेमा नेकपाका उम्मेदवार हरिराम चौधरी ‘उत्सव’, नागरिक उन्मुक्ति पार्टी, नेपालका धनबहादुर सुनार, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारलगायत छन्।
कैलाली ५ मा १५ उम्मेदवारमध्ये १२ जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। जसमा एमाले उम्मेदवार यज्ञराज ढुङ्गाना, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही, नागरिक उन्मुक्ति पार्टी, नेपालका जगन्नाथ चौधरी, स्वतन्त्र उम्मेदवार प्यारेलाल राना छन्।
कञ्चनपुरमा पूर्वमन्त्रीसहित ४४ जनाको जमानत जफत
कञ्चनपुरका तीनवटा निर्वाचन क्षेत्रमा ५५ जना चुनावी मैदानमा रहेकामध्ये ४४ जनाको जमानत जफत भएको छ। कञ्चनपुर १ मा १९ उम्मेदवारमध्ये १५ जनाको निर्वाचय कार्यालयले जनाएको छ। जसमा दिल्लीबहादुर शाही(राप्रपा), कृष्णबहादुर चौधरी (नाउपा, नेपाल), माइकल तामाङ (उनेपा) लगायत छन्।
कञ्चनपुर २ मा १९ जनामध्ये १५ उम्मेदवारको जमानत जफत भएको छ। यहाँ तीर्थराज चटौत (राप्रपा) प्रेमवती राना (नाउपा, नेपाल), धर्मानन्द जोशी(प्रलोपार्टी) रामबहादुर कार्की (राष्ट्रिय जनमोर्चा)का उम्मेदवारको जमानत जफत भएको हो।
कञ्चनपुर ३ मा १७ उम्मेदवारमध्ये १४ जनाको धरौटी जफत भएको छ। जसमा पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका मानबहादुर सुनार, राप्रपाका पूर्णबहादुर चन्द, उज्यालो नेपाल पार्टीका भीमबहादुर कुमाल, श्रम संस्कृति पार्टीका गंगादत्त जोशीलगायत उम्मेदवार छन्।
डडेल्धुरामा १३ जना चुनावमा उठेकोमा १० जनाको जमानत जफत भएको निर्वाचय कार्यालयले जनाएको छ। यहाँ एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोविन्द खडायत, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगर, स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीको जमानत जफत भएको छ।
दार्चुलामा ११ जना उम्मेदवार रहेकोमा ८ जनाको जमानत जफत भएको छ। जसमा नेपाली कम्युनिष्टका पार्टी (नेकपा) लक्ष्मणदत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश चन्द, नेपाल कम्युनिस्ट पार्टीका (माओवादी) नवराज भट्ट, राष्ट्रिय जनमोर्चाका विर्खराज पन्त, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का विद्यादेव जोशी, आम जनता पार्टीका प्रेमसिंह बडाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्ना र नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल छन्।
अछाम १ मा ८ जना चुनावमा उठेकामध्ये ५ जनाको जमानत जफत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर शाह, नेकपा(माओवादी)का लोकेन्द्रबहादुर शाही, भीमबहादुर कुँवर (स्वतन्त्र) र नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाहीको जमानत जफत भएको हो।
अछाम २ मा ९ जना उम्मेदवारमध्ये ५ जना शेरबहादुर विक नेकपा (माओवादी), मीनबहादुर शाही(राप्रपा), पुष्पराज न्यौपाने(प्रलोपा) झंकर बहादुर शाही(नेमकिपा) राजेश रावल (उनेपा)को धरौटी जफ भएको छ।
११ उम्मेवार रहेको बैतडीमा एक स्वतन्त्रसहित ७ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रामबहादुर कुवँर, जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराल, आम जनता पार्टीका बिसनसिंह बोहरा, श्रम सस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्त छन्।
डोटीमा ९ जना उम्मेदवार रहेकोमा ५ जनाको जमानत जफत भएको जनाइएको छ। जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका खडकबहादुर अग्रवाल, राष्ट्रिय जनमोर्चाका मणिराज भट्ट, नेकपा (माओवादी)का प्रकाश कठायत, मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल (मल्ल) र नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही छन्।
बझाङमा ७ जना चुनावमा उठेकोमा ३ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। जमानत जफत हुने उम्मेदवारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भरत मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठारा र नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा छन्।
पूर्वमन्त्रीसहित ५ जनाको जमानत जफत
बाजुरामा निर्वाचनमा भाग लिएका ८ उम्मेदवारमध्ये पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाशबहादुर शाहसहित ५ जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
शाह सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केशरबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार भुपेन्द्र ल्वार, प्रगतिशील लोकतान्त्रिक पार्टीका डिककुमार डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीको पनि जमानत जफत भएको छ।