- टीकाराम साउँद
पछिल्ला वर्षहरूमा ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तारसँगै पुर्खाले बनाएका ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरू मासिने खतरा बढेको छ। यसको एउटा उदाहरण हो, परशुराम नगरपालिका–२ को प्रख्यात घाङारुकोटको ढुङ्गा। घाङारुकोटमा पाइने ढुङ्गा अहिले लोप हुने अवस्थामा पुगेको छ ।
पुर्खाहरूले घरको छाना, घट्ट, जात्रा, सिलौटो र धर्मसला आदि बनाउन प्रयोग गरेका थिए। पछिल्लो समयमा घाङारुकोट जोगबुडा–चिर्किटे सडकखण्डमा परेकाले सडक विस्तारसँगै ढुङ्गा खानी मासिने खतरा बढेको स्थानीय दीपक कामीले बताए।
उक्त क्षेत्रमा सडक निर्माण हुँदा पुराना धर्मशाला, ढुङ्गा खानीलगायत ऐतिहासिक ढुङ्गे संरचनाहरू नष्ट हुँदै गएका छन्। स्थानीयका अनुसार वर्षौँअघि यात्रुहरूलाई आराम गर्न बनाइएका धर्मशालाहरू र ढुङ्गाबाट बनेका संरचनाहरू समेत अहिले सडक विस्तारको क्रम सँगै पुरिँदै र भत्किँदै गएका छन्।
कतिपय स्थानमा पुराना ढुङ्गामा लेखिएका शिलालेखसमेत क्षति पुग्ने अवस्थामा पुगेका छन् । यी धरोहरहरू केवल धार्मिक वा ऐतिहासिक मात्र नभई स्थानीय संस्कृति र इतिहासको महत्वपूर्ण प्रमाण पनि भएको स्थानीय बताउँछन्। तर सडक निर्माणका क्रममा संरक्षणको उचित व्यवस्था नभएकाले यस्ता संरचनाहरू लोप हुने खतरा बढ्दै गएको स्थानीयहरूको भनाइ छ।
स्थानीय नागरिकहरूले विकाससँगै पुराना धरोहरहरूको संरक्षणमा पनि ध्यान दिनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार सडक विस्तार आवश्यक भएपनि ऐतिहासिक महत्वका संरचनाहरूको पहिचान गरी संरक्षण गर्नुपर्नेमा जोड दिनुपर्ने बताउँछन्। सम्बन्धित निकायले समयमै ध्यान नदिए पुर्खाले बनाएका यस्ता अमूल्य धरोहरहरू सधैँका लागि इतिहासमै सीमित हुने स्थानीयहरूको चिन्ता रहेको छ।
यी सडकखण्डमा पर्ने ढुङ्गाखानी अनि महाभारत लेकमा पर्ने दर्जनौं धर्मसलाहरू मासिएका छन् भने कतिपय मासिने अवस्थामा पुगेका छन्। सडक विस्तारसँगै महाभारकोलेकमा पर्ने रम्सिलाको पानीको धारासमेत संकटमा परेको छ। ती ऐतिहासिक धरोहरहरूको संरक्षणमा स्थानीय सरकार बेखवर रहेको जनगुनासो बढ्दो छ।

