Radio Unity 92.2MHz

माउन्टेन बोर्डिङ स्कुलमा कलाकौशल, विज्ञान प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

डडेल्धुरा: माउन्टेन इङ्लिस मिडियम बोर्डिङ स्कुल बागबजार, डडेल्धुराले आयोजना गरेको कलाकौशल, विज्ञान प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम शनिवार भव्यरूपमा सम्पन्न भएको छ।

विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न सिर्जनात्मक प्रस्तुति, वैज्ञानिक नमुना र सांस्कृतिक कार्यक्रमले दर्शकको मन जितेका थिए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । उनले यस्ता कार्यक्रमले विद्यार्थीको सीप, सिर्जनशीलता र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयहरूमा यस्ता सिर्जनात्मक गतिविधि नियमित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले तयार पारेका विज्ञानसम्बन्धी विभिन्न प्रयोगात्मक नमुना, कलात्मक सामग्री र शैक्षिक परियोजना प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनी अवलोकन गर्न अभिभावक, शिक्षक, सरोकारवाला तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

विद्यालयका प्रिन्सिपल महेश महराले विद्यार्थीभित्र लुकेका प्रतिभा पहिचान गरी बाहिर ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटकलगायतका विविध सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए। विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीको सिर्जनशीलता, वैज्ञानिक सोच र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

 

सम्बन्धित पाेष्टहरु
Loading...