डडेल्धुरा: बजारमा एलपी ग्यास तथा पेट्रोलियम पदार्थको अभाव रहेको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचार तथा उपभोक्ताका गुनासोप्रति जिल्ला प्रशासन कार्यालय डडेल्धुराले ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको सहज बिक्री वितरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई आवश्यक निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले ग्यास तथा पेट्रोलियम पदार्थ निर्धारित मूल्य र परिमाणमा सहज तथा निर्वाध रूपमा बिक्री वितरण गर्न आग्रह गरे। साथै ग्यासको मूल्य, तौल वा वितरणसम्बन्धी कुनै समस्या देखिएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन उपभोक्तालाई अनुरोध गरिएको छ।
प्रशासनले हल्लाको भरमा एलपी ग्यास तथा पेट्रोलियम पदार्थ अत्यधिक मात्रामा भण्डारण नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ। विद्युत् चुलोको प्रयोग बढाएर एलपी ग्यासमाथिको निर्भरता कम गर्न समेत सुझाव दिइएको छ।
यस्तै, ग्यास तथा पेट्रोलियम पदार्थ उपलब्ध हुँदाहुँदै पनि नभएको भन्दै ग्राहकलाई सास्ती दिने, बढी मूल्य लिई कालोबजारी गर्ने जस्ता गतिविधि गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
प्रशासनले जारी गरेको सूचना –
