डडेल्धुरा: स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै कृषक र उपभोक्ताबीच सिधा सम्बन्ध स्थापना गर्ने उद्देश्यले डडेल्धुरामा प्रत्येक शनिबार कृषि हाट बजार सञ्चालन गरिने भएको छ।
कृषि थोक तथा हाट बजार सञ्चालक समितिको आयोजना तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न निकायहरू र उद्योग वाणिज्य संघ डडेल्धुराको समन्वयमा आगामी शनिबारदेखि हाट बजार सुरु गर्न लागिएको हो।
हरेक शनिबार बिहान ११ बजेदेखि डडेल्धुरा बसपार्क पछाडि हाट बजार सञ्चालन गरिने कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाइएको छ। बजारमा जिल्लाभरका कृषक तथा व्यापारीहरूले आफ्ना कृषि उपज, वन पैदावार, पशुजन्य वस्तु, घरेलु उत्पादन तथा हस्तकलाका सामग्री बिक्री–वितरण गर्न सक्नेछन्।
स्थानीय उत्पादनको बजारीकरण, किसानको आम्दानी वृद्धि र उपभोक्तालाई ताजा तथा गुणस्तरीय सामग्री उपलब्ध गराउने लक्ष्यसहित हाट बजार सञ्चालन गर्न लागिएको बताइन्छ। हाट बजारमा सहभागी हुन इच्छुक कृषक तथा व्यापारीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ। हाट बजारका लागि स्टल निःशुल्क उपलब्ध गराइनेछ।
