डडेल्धुरा: ‘भ्रष्टाचार नियन्त्रण : हाम्रो साझा दायित्व’ भन्ने नारासहित डडेल्धुरामा सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार काठमाडौंको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रस्तुत तथ्यांकले डडेल्धुरा जिल्लाका सरकारी कार्यालयहरूमा सेवा प्रवाह कमजोर रहेको देखाएको छ । प्रहरी नायब उपरीक्षक शिवकुमार पौडेलले सार्वजनिक गरेको सेवाग्राही सर्वेक्षणअनुसार कर्मचारीको सेवाग्राहीप्रतिको व्यवहार सन्तोषजनक नरहेको पाइएको छ । ५० जना सेवाग्राहीसँग गरिएको कुराकानीबाट यस्तो निष्कर्ष आएको हो ।
अनुगमनका क्रममा २६ वटा सरकारी तथा सार्वजनिक निकायमा छड्के जाँच गर्दा समय पालना नगर्ने, तोकिएको पोशाक नलगाउने र कार्यालयमा अनुपस्थित रहने समस्या व्यापक देखिएको जनाइएको छ ।
तथ्यांकअनुसार २० कर्मचारी अनुपस्थित भेटिएका थिए भने १० जनाले तोकिएको पोशाकसमेत नलगाएको पाइएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । त्यसमध्ये डडेल्धुरा अस्पतालमा मात्रै १७ कर्मचारी अनुपस्थित भेटिनु गम्भीर विषयका रूपमा उठाइएको छ । साथै, ६ वटा आयोजनाको अनुमगन गर्दा नागरिक वडापत्रसमेत नराखिएको पाइएको उनले बताए ।
राष्ट्रिय सतर्कता केन्द्रको एक साताको अनुगमनले उजागर गरेका यी तथ्यहरूले डडेल्धुरामा सेवा प्रवाह सुधार र सुशासनका लागि तत्कालै कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले कर्मचारीतन्त्रकै कमजोरीका कारण डडेल्धुरा पीडित बनेको टिप्पणी गरे ।
उनले शुक्रबार दिउँसोदेखि नै कर्मचारीहरू तराईतर्फ घर जाने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै कर्मचारी सुधारबिना देश समृद्ध हुन नसक्ने बताए । समन्वय, सहकार्य र सहअस्तित्वको भावनाले अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
यस्तै, परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले समयमै काम नगर्ने ठेकेदार र घुस लिने कर्मचारीमाथि कडा कारबाही गर्नुपर्ने बताएका छन् । उनले दोषीमाथि कारबाहीका लागि सतर्कता केन्द्रलाई सक्रिय भूमिका खेल्न आग्रह गरे ।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले भ्रष्टाचारका कारण मुलुक आक्रान्त बनेको उल्लेख गर्दै पछिल्लो पुस्तामा देखिएको असन्तुष्टिको मूल कारण यही रहेको बताए। उनले ‘भ्रष्टाचार र सदाचार दुवैको जिम्मेवार कर्मचारी नै हुन्’ भन्दै अब सबै पक्ष सुधारतर्फ लाग्नुपर्ने धारणा राखे।
कार्यक्रमका सहभागीहरूले नैतिक जिम्मेवारीका साथ काम गरे मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव हुने निष्कर्ष निकाल्दै कर्मचारी र जनप्रतिनिधिहरूलाई कर्मनिष्ठ भएर सेवा प्रवाह गर्न आग्रह गरेका छन्। कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय, स्थानीय तहका प्रमुख÷उपप्रमुख, कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
