Radio Unity 92.2MHz

महिला प्रअले हाँकेको सरस्वती मावि भात्काँडा : जसले एसईईमा ल्यायो जिल्लामै उत्कृष्ट नतिजा

डडेल्धुरा: गन्यापधुरा गाउँपालिका–१ भात्काँडास्थित सरस्वती माध्यमिक विद्यालयले यसवर्षको एसईईमा ऐतिहासिक सफलता हासिल गर्दै सामुदायिक विद्यालयतर्फ जिल्लामै पहिलो भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको एसईई २०८२ को नतिजाअनुसार उक्त विद्यालयले जिल्लाभरकै विद्यालयमध्ये शीर्ष स्थान हासिल गर्दै शिक्षा क्षेत्रमा आफ्नो बलियो उपस्थिति पुनः प्रमाणित गरेको हो।

विद्यालयकी प्रधानाध्यापक इश्वरी भट्टको कुशल नेतृत्वमा सरस्वती माविले निरन्तर सुधार गर्दै आएको शैक्षिक गुणस्तर यसवर्ष उत्कृष्टताको शिखरमा पुगेको छ। २०८० सालदेखि प्रअको जिम्मेवारी सम्हाल्दै आएकी भट्टको नेतृत्वमा विद्यालयले छोटो समयमै उल्लेखनीय शैक्षिक उन्नति हासिल गरेको स्थानीय अभिभावक तथा सरोकारवालाहरू बताउँछन्।

शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका अनुसार सरस्वती माविबाट एसईईमा सहभागी १६ जना विद्यार्थीमध्ये १२ जना विद्यार्थी ग्रेडेड भएका छन्, जसअनुसार विद्यालयको उत्तीर्ण प्रतिशत ७५ पुगेको छ। गत वर्ष जिल्लामा तेस्रो स्थानमा रहेको विद्यालयले यस वर्ष एक कदम अगाडि बढ्दै पहिलो स्थान कब्जा गर्न सफल भएको हो।

प्रधानाध्यापक भट्टका अनुसार यो सफलता केवल विद्यालयको मात्र नभई सम्पूर्ण समुदायको सामूहिक उपलब्धि हो। उनले भनिन्, ‘शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक र सम्पूर्ण सरोकारवालाहरूको संयुक्त प्रयासकै कारण यो नतिजा सम्भव भएको हो। हाम्रो लक्ष्य शतप्रतिशत उत्तीर्ण गराउने थियो, केही विद्यार्थी ग्रेडवृद्धिमा परे पनि आगामी दिनमा अझ राम्रो परिणाम आउने विश्वास छ।’

त्यस्तै, जिल्लामा उत्कृष्ट नतिजा ल्याउने मामलामा भागेश्वर गाउँपालिका–५ रुपालीगाडस्थित शिवशंकर मावि दोस्रो भएको छ। उक्त विद्यालयबाट १५ जना विद्यार्थी सहभागीमध्ये १० जना अर्थात् ६६.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यसैगरी, गन्यापधुरा गाउँपालिका–४ जैसेरास्थित भुवनेश्वरी मावि तेस्रो स्थानमा रहन सफल भएको छ। २८ जना विद्यार्थीमध्ये १८ जना अर्थात् ६४.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराले जनाएको छ।

संस्थागत विद्यालयतर्फ भने अमरगढी नगरपालिका–१ दहस्थित मोर्डन इङ्लिस बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै ८८.८९ प्रतिशत विद्यार्थी ग्रेडेड गराउँदै जिल्लामै पहिलो स्थान हासिल गरेको छ।

यस वर्षको एसईई नतिजाले डडेल्धुरामा सामुदायिक तथा संस्थागत दुवै विद्यालयबीच बढ्दो प्रतिस्पर्धा र शैक्षिक गुणस्तरमा आएको सुधारलाई स्पष्ट रूपमा उजागर गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...