Radio Unity 92.2MHz

अभिभावक शिक्षा तालिमले डडेल्धुराका शिक्षकमा नयाँ उत्साह

डडेल्धुरा: डडेल्धुरामा प्रधानाध्यापक र बाल विकास शिक्षकहरूका लागि सञ्चालित दुईदिने अभिभावक शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यसहित सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा भएको तालिम आइतबार सम्पन्न भएको हो।

तालिममा कक्षा कोठाभित्र बालबालिकाको मनोविज्ञान कसरी बुझ्ने, विद्यार्थीमैत्री वातावरण कसरी बनाउने तथा बालबालिकाले सहज रूपमा सिक्ने गरी शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्ने विषयमा गहन सहजीकरण गरिएको थियो। समूहगत छलफल, अनुभव आदानप्रदान र व्यवहारिक अभ्यासमार्फत शिक्षकहरूलाई आधुनिक शिक्षण पद्धतिसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

विद्यालय, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख मीनबहादुर लामिछानेले बताए।

समुदायस्तरमै अभिभावक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै उनले विद्यालय, शिक्षक र अभिभावकबीच सहकार्य अभिवृद्धि गर्न तालिम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

मुख्य सहजकर्ता शरलाकुमारी ठकुराठीले तालिमबाट सिकेका विषय व्यवहारमा लागू भए विद्यालयको सिकाइ वातावरण अझ सकारात्मक बन्ने बताइन् । तालिमले शिक्षकहरूलाई नयाँ सोच, सीप र ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

शिक्षक तेजबहादुर पनेरूले तालिम अनुभव आदानप्रदानको उत्कृष्ट अवसर बनेको उल्लेख गर्दै प्राप्त ज्ञान अभिभावक र अन्य शिक्षकसम्म पनि पुर्‍याउने बताए। उनले अहिले प्रविधिको प्रयोगमा विद्यार्थीहरू शिक्षकभन्दा अगाडि बढ्दै गएको भन्दै शिक्षकहरू पनि समयसँगै प्रविधिमैत्री बन्नुपर्ने धारणा राखे।

यस्तै, शिक्षिका यशोदा भण्डारीले अभिभावक, प्रधानाध्यापक र शिक्षकको भूमिकाबारे स्पष्ट जानकारी पाएको बताउँदै आगामी दिनमा अभिभावकलाई समेत सहभागी गराएर यस्ता तालिम सञ्चालन गर्न सुझाव दिइन्।

सामाजिक विकास कार्यालयका प्राविधिक सहायक भोजबहादुर चुनाराले सिकेका सीपलाई विद्यालयमा व्यवहारिकरूपमा लागू गर्न सहभागीहरूलाई आग्रह गरे।

 

इमानदारिता, लगनशीलता र सामूहिक प्रयासबाट विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सकिने उनको भनाइ थियो। उक्त तालिममा गन्यापधुरा गाउँपालिकाका सामुदायिक विद्यालयका ४० जना प्रधानाध्यापक र बाल विकास शिक्षकको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...