Radio Unity 92.2MHz

‘प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्छ’

डडेल्धुरा: नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको १६औँ साधारणसभाको उद्घाटन सत्र सोमबार सम्पन्न भएको छ। अमरगढी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज तथा पत्रकारिता क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमाथि विभिन्न किसिमका दबाब र अंकुश बढिरहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। कार्यक्रममा बोल्दै डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक महताले समाज सही दिशामा अघि बढाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सामाजिक सञ्जालको प्रभाव बढिरहेको अवस्थामा सत्य र तथ्यमा आधारित समाचारले समाजलाई मार्गनिर्देशन गरिरहेको उल्लेख गरे।

डडेल्धुरा खेलकुद विकास समितिका अध्यक्ष जगतबहादुर ऐरले पत्रकारलाई ‘आवाजविहीनहरूको आवाज’ को रूपमा व्याख्या गर्दै पछिल्लो समय पत्रकारितामाथि प्रश्न उठ्ने क्रम बढेको बताए। उनले सरकारले पत्रकार अधिकारमाथि अंकुश लगाउने प्रयास गरेको आरोप लगाउँदै पत्रकारिता क्षेत्र दिनदुःखी र उत्पीडित वर्गको सहारा बनेको बताए।

अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले व्यावसायिक तथा खोज पत्रकारिताको आवश्यकता औंल्याउँदै पत्रकारहरूको क्षमता विकासमा नगरपालिका सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।

कार्यक्रममा नेकपाका जिल्ला नेता डम्बर साउदले लोकतन्त्रमा भ्रष्टाचारविरुद्ध कलम चलाउन कुनै दबाब वा प्रभावमा नपर्न पत्रकारहरूलाई आग्रह गरे। त्यस्तै नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले प्रविधिको विकाससँगै पत्रकारितालाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। पत्रकारितामाथि अंकुश लगाउने सरकार दीगो नहुने उल्लेख गर्दै एमाले सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टले पत्रकारमा निराशा बढ्दै गएको बताउँदै वर्तमान सरकारले पत्रकारका अधिकार खोस्न खोजेको आरोप लगाए। उनले पत्रकारको क्षमता विकासका कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारले आवश्यक कार्यविधि नबनाएको गुनासो गरे।

महासंघका प्रदेश उपाध्यक्ष मानबहादुर साउदले पत्रकार महासंघ देशभर आन्दोलनरत रहेको जानकारी दिँदै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पत्रकारहरूको भूमिका अविस्मरणीय रहेको बताए। उनले सरकारले मिडिया क्षेत्रमा विज्ञापन रोक लगाएर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए । साथै पत्रकारले पनि आत्मसमीक्षा गर्दै निष्पक्ष र जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले पत्रकारिता र समाजबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै पत्रकार सुरक्षाप्रति प्रशासन सचेत रहेको बताए। सामाजिक सञ्जालमा आउने सूचनाको सत्यतथ्य पत्ता लगाएर मात्रै समाजलाई सुसूचित गर्न पत्रकारहरूलाई आग्रह गरे।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहले सरकारले मिडिया हाउस तथा पत्रकारका अधिकार संकुचित बनाउन खोजेको आरोप लगाउँदै पत्रकारहरू पनि अनुशासित र जिम्मेवार बन्नुपर्ने बताए। कार्यालयमा गएर कर्मचारीलाई धम्क्याउने वा दबाब दिने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता कमजोर बनाउने उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मुकुन्दप्रसाद भण्डारीले मिडिया हाउसमाथि सरकारले विभिन्न प्रकारका अंकुश लगाउन खोजेको भन्दै त्यसविरुद्ध महासंघ आन्दोलनमा रहेको बताए। उनले सञ्चारकर्मीहरू अन्योलपूर्ण अवस्थामा काम गर्न बाध्य भएको उल्लेख गर्दै परिवर्तनका आन्दोलनमा पत्रकारहरूको योगदान राज्यले बिर्सन नहुने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले सुशासन, विकास र लोकतन्त्र मजबुत बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित हुन आग्रह गर्दै पत्रकारितामा कुनै प्रकारको सिन्डिकेट सुहाउँदो नहुने धारणा व्यक्त गरे।

उद्घाटन सत्रमा विभिन्न विधामा सक्रिय पत्रकारहरूलाई सम्मान पनि गरिएको थियो। सक्रिय पत्रकारिता पुरस्कारबाट अमरगढी एफएमकी स्टेशन म्यानेजर ममता भट्ट सम्मानित भएकी छन्। खोज पत्रकारिता पुरस्कार गोरखापत्र डडेल्धुराका संवाददाता पुष्कर भण्डारीलाई प्रदान गरिएको थियो भने युवा सशक्त पुरस्कार सिमाना न्युजका सहसम्पादक शेरबहादुर भण्डारीलाई प्रदान गरिएको थियो।

पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाका संस्थापक सदस्य बाबुराम श्रेष्ठलाई पनि सम्मान गरिएको छ। त्यसैगरी संस्थागत विकासमा सहयोग पुर्‍याएको भन्दै ऋषि खोला महिला सामुदायिक वनलाई पनि सम्मान गरिएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...