डडेल्धुरा: डडेल्धुरामा सम्पन्न १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली सर्वाधिक पदक जित्दै च्याम्पियन (प्रथम) बनेको छ।
अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबार भव्य रूपमा समापन भएको हो।
अन्तिम पदक तालिका अनुसार कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्यसहित कुल ५८ पदक जित्दै पहिलो स्थान हासिल गर्यो। कञ्चनपुरले १७ स्वर्ण, १३ रजत र १३ कास्य गरी कुल ४३ पदकसहित दोस्रो स्थान प्राप्त गर्दा डडेल्धुराले ६ स्वर्ण, ७ रजत र १७ कास्यसहित ३० पदक जितेर तेस्रो स्थानमा रह्यो।
बैतडीले ६ स्वर्ण, ७ रजत र १३ कास्यसहित कुल २६ पदक जित्दै चौथो स्थान हासिल गर्यो। दार्चुला, बझाङ, बाजुरा, डोटी र अछाम क्रमशः पाँचौँ, छैटौँ, सातौँ, आठौँ र नवौँ स्थानमा रहे। दार्चुलाले ३ तथा बझाङले २ स्वर्ण पदक जित्दा बाजुरा, डोटी र अछाम भने स्वर्ण पदकविहीन बने।
प्रतियोगिता अवधिभर विभिन्न खेल विधामा कुल ६६ स्वर्ण, ६६ रजत र १०० कास्य गरी जम्मा २३२ पदक वितरण गरिएको थियो। समापन समारोहकी प्रमुख अतिथि सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुरामा पहिलोपटक प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुन सफल भएकोमा खुसी व्यक्त गरिन्। उनले सुदूरपश्चिमका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गरेको उल्लेख गर्दै खेलाडीहरूको मिहिनेत र लगनशीलताको प्रशंसा गरिन्।
राज्यमन्त्री खड्काले खेलाडीलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउन राज्य अझै पूर्ण रूपमा सफल हुन नसकेको स्वीकार गर्दै खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन्। खेलाडीको सम्मान र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का (रवि) ले डडेल्धुरामा प्रतियोगिता आयोजना गर्दा प्राप्त भएको जनसहभागिताले आफूहरूलाई थप उत्साहित बनाएको बताए। ‘
कैलाली–कञ्चनपुरमा ठूला प्रतियोगिता हुँदा पनि अपेक्षित दर्शक उपस्थित हुँदैनन्, तर डडेल्धुरामा दर्शकको उल्लेखनीय सहभागिता देखियो,’ उनले भने, ‘यही उत्साहका कारण आगामी दिनमा पनि पहाडी जिल्लामा यस्ता प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौँ।’
उनले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सुरक्षा निकाय, स्थानीय सरकार, खेलकर्मी, स्वयंसेवक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे। प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले प्रदेशका उदीयमान खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
पदक विवरण–




