डडेल्धुरा: डडेल्धुराको शैक्षिक इतिहास बोकेको महेन्द्र माध्यमिक विद्यालय, खलंगाले आफ्नो ७०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यरूपमा सम्पन्न गरेको छ।
शिक्षा, संस्कार र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गर्दै आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रम उत्साह, सम्मान र सांस्कृतिक प्रस्तुतिले भरिपूर्ण बनेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनले विद्यालयको प्रभावशाली शैक्षिक र भौतिक विकासको चित्र प्रस्तुत गरेको छ। हाल विद्यालयमा १ हजार ४४१ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने ५६ जना शिक्षक–कर्मचारी कार्यरत छन्। विद्यालयसँग ३० रोपनी क्षेत्रफलमा फैलिएको आफ्नै जग्गा, ३२ वटा कक्षाकोठा रहेको प्रअ ऐरले बताए ।
डडेल्धुरा मात्र नभई बैतडी, डोटी र बझाङका विद्यार्थीसमेत गुणस्तरीय शिक्षाको खोजीमा महेन्द्र माविमा अध्ययन गर्न आउने गरेका छन्। यसले विद्यालयको बढ्दो विश्वास, प्रतिष्ठा र शैक्षिक प्रभावलाई थप उजागर गरेको छ।
प्रधानाध्यापक ऐरले विद्यालयको आर्थिक व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाइएको उल्लेख गर्दै गुणस्तरीय शिक्षासँगै संस्कारयुक्त, व्यवहारिक र समयसापेक्ष शिक्षामा जोड दिइएको बताए। उनले विद्यार्थी संख्याको अनुपातमा थप कक्षाकोठा, प्रयोगशाला र विषयगत शिक्षकको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर अझ उकास्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जोशीले शिक्षा क्षेत्र नगरपालिकाको प्राथमिकतामा राखिएको बताउँदै विद्यालयका पूर्वाधार तथा शैक्षिक चुनौती समाधानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
वार्षिकोत्सवको अवसरमा विद्यालय परिसर सांस्कृतिक उत्सवस्थलमा परिणत भएको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य, गीत तथा कला प्रदर्शनले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। साथै उत्कृष्ट विद्यार्थी, खेलाडी, अभिभावक, शिक्षक तथा विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
२०१४ सालमा स्थापना भएको महेन्द्र माध्यमिक विद्यालय सात दशक पार गर्दै सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ। ७० वर्षको गौरवपूर्ण इतिहास बोकेको विद्यालयले आगामी दिनमा पनि शिक्षा, संस्कार र उत्कृष्टताको यात्रालाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।




