Radio Unity 92.2MHz

आलिताल फेरि जिल्लामै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा

डडेल्धुरा: बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आएको आलिताल गाउँपालिका पुनः जिल्लामै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ बन्न सफल भएको छ।

मंगलबार आयोजित विशेष कार्यक्रममा गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल (बोहरा) ले अध्यक्षता गरेकी थिइन्।

कार्यक्रममा उपाध्यक्ष बोहराले गाउँपालिकाका आठवटै वडाका लक्षित सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको जानकारी दिँदै आवश्यक प्रमाणीकरण तथा अनुगमन प्रक्रिया पूरा भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताइन्। भौगोलिक विकटता, आर्थिक सीमितता र विभिन्न चुनौतीका बाबजुद आलितालले जिल्लामै पहिलो पालिकाका रूपमा यो उपलब्धि हासिल गरेकोमा उनले खुसी व्यक्त गरिन्।

स्वास्थ्यलाई मानव जीवनको आधारस्तम्भको रूपमा व्याख्या गर्दै उनले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। आगामी दिनमा पनि पूर्ण खोप कार्यक्रमलाई निरन्तरता दिँदै उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता उनले व्यक्त गरिन्।

प्रमुख अतिथि भण्डारीले पूर्ण खोप सुनिश्चितता स्थानीय तहको मात्र नभई समग्र सरकार र समाजको साझा सफलता भएको बताए। उनले खोपको महत्वलाई सामान्य रूपमा नलिन आग्रह गर्दै विगतमा महामारी र विभिन्न रोगका कारण ठूलो मानवीय क्षति व्यहोर्नुपरेको स्मरण गराए। खोप कार्यक्रमकै प्रभावले बाल मृत्युदरमा कमी आउनुका साथै जनस्वास्थ्यमा उल्लेखनीय सुधार भएको उनको भनाइ थियो।

‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो,’ उनले भने, ‘खोप कार्यक्रम त्यसको सबैभन्दा प्रभावकारी उदाहरण हो।’ भौतिक पूर्वाधार निर्माणभन्दा पनि जनस्वास्थ्यसँग जोडिएका यस्ता कार्यक्रमको महत्व अझ ठूलो हुने उनको धारणा थियो।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले आलिताल गाउँपालिका विगतदेखि नै जिल्लामै सबैभन्दा पहिले पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने पालिकाका रूपमा परिचित रहेको उल्लेख गर्दै यस वर्ष पनि सो उपलब्धि दोहोर्याउन सफल भएकोमा खुसी व्यक्त गरे। उनले खोपलाई मानव जीवन रक्षाको महत्वपूर्ण आधार भएको बताउँदै बालबालिकालाई निःशुल्क उपलब्ध गराइने खोपमा राज्यले ठूलो लगानी गरिरहेको जानकारी दिए।

खोप अत्यन्त संवेदनशील विषय भएकाले यसको भण्डारण, व्यवस्थापन र प्रयोगमा विशेष सतर्कता आवश्यक रहेको उनको भनाइ थियो। खोपको गुणस्तर कायम राख्न प्रभावकारी कोल्ड चेन व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै उनले स्वास्थ्यकर्मी तथा सरोकारवाला सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरे। प्राप्त उपलब्धिलाई दीर्घकालसम्म कायम राख्न सबै पक्षबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीका अनुसार गाउँपालिकाका सबै वडामा पूर्ण खोप सुनिश्चितताको प्रमाणीकरण सम्पन्न भइसकेको छ। चालु आर्थिक वर्षमा १६ देखि २३ महिनासम्मका १८० जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेका छन्।

हाल गाउँपालिकामा २ वटा स्वास्थ्य चौकी, ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, २ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई, १६ वटा नियमित खोप केन्द्र र ६ वटा गाउँघर क्लिनिक सञ्चालनमा रहेका छन्। ५५ जना महिला स्वास्थ्य स्वयंसेविका तथा ३२ जना स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य सेवा प्रवाह भइरहेको छ।

२०७० सालदेखि निरन्तर रूपमा पूर्ण खोप सुनिश्चितता अभियान सञ्चालन गर्दै आएको आलिताल गाउँपालिकाले यस वर्ष पनि आफ्नो अग्रता कायम राख्दै जिल्लाका अन्य स्थानीय तहका लागि उदाहरणीय उपलब्धि हासिल गरेको छ। कार्यक्रममा कार्यसम्पादनका आधारमा उत्कृष्ट आठ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अमृता ठडाली मगर, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...