डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाले सार्वजनिक खरिद नियमावलीविपरीत प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाई ७ थान मोटरसाइकल खरिद गरेको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०८३ अनुसार नगरपालिकाले विभिन्न आपूर्तिकर्ताबाट मोटरसाइकल खरिद गर्दा कुल २५ लाख ९३ हजार ५६५ रुपैयाँ खर्च गरेको भए पनि खरिद प्रक्रिया नियमसम्मत नदेखिएको औंल्याइएको छ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ मा सोझै खरिदसम्बन्धी व्यवस्था तथा नियम ११५ मा आपूर्ति भएका सामानको स्पेसिफिकेसन र गुणस्तर परीक्षण गर्नुपर्ने प्रावधान रहेको छ। तर नगरपालिकाले खरिद गरिएका मोटरसाइकलको गुणस्तर तथा प्राविधिक मापदण्ड परीक्षण गरेको प्रमाण पेश गर्न नसकेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले विभिन्न मितिमा पाँचवटा छुट्टाछुट्टै खरिद प्रक्रियामार्फत ७ मोटरसाइकल खरिद गरेको थियो। जसअन्तर्गत रुद्र अटोमोटिभ्सबाट २ थान मोटरसाइकल खरिदमा ६ लाख ३५ हजार रुपैयाँ, शुभकोटी मोटर्सबाट २ थान मोटरसाइकल खरिदमा ७ लाख ५३ हजार ६१५ रुपैयाँ, केजीएस ट्रेडिङ कन्सर्नबाट २ थान मोटरसाइकल खरिदमा ७ लाख ५८ हजार ९ सय रुपैयाँ तथा बागेश्वरी अटोमोटिभ्सबाट १ थान मोटरसाइकल खरिदमा ४ लाख ४४ हजार ३५० रुपैयाँ भुक्तानी गरिएको देखिएको छ।
महालेखापरीक्षकले प्रतिस्पर्धात्मक खरिद विधि अवलम्बन नगरी तथा खरिद गरिएका सवारी साधनको गुणस्तर परीक्षणको व्यवस्था नगरी गरिएको खरिद कार्य नियमसम्मत नभएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा उक्त रकमलाई अनियमित कारोबारका रूपमा उल्लेख गर्दै नगरपालिकालाई खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धात्मकता सुनिश्चित गर्न सुझाव दिइएको छ।
यस विषयले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाको प्रभावकारिता, पारदर्शिता तथा आर्थिक अनुशासनमाथि पुनः प्रश्न उठाएको छ।
महालेखापरीक्षकको प्रतिवेदन हेर्नुहोस्–
