डडेल्धुरा: युवा मेयर भरत बडायर जोशीले हाँकेको परशुराम नगरपालिकामा उपकरण परिचालन, इन्धन तथा सवारी मर्मतमा करोडौँ रूपैयाँ खर्च गरिएको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०८३ अनुसार यी शीर्षकमा गरी करिब रु. १ करोड ६५ लाख ५२ हजारभन्दा बढी खर्च भएको भए पनि आवश्यक कार्यविधि, लगसिट र आम्दानी–खर्च विश्लेषण नदेखिएको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार नगरपालिकामा एक्साभेटर, ट्रिपर, एम्बुलेन्स र ब्याकहो लोडरजस्ता उपकरणहरू भए पनि ती उपकरणको परिचालनबाट वर्षभर कुनै आम्दानी देखिएको छैन। तर उपकरण सञ्चालन, चालक, इन्धन तथा मर्मतमा मात्र ७९ लाख ३४ हजार ६६९ रुपैयाँ खर्च भएको पाइएको छ। कार्यविधि अभावका कारण आम्दानी शून्य हुँदा खर्च भने उच्च देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ४१ (छ) अनुसार उपलब्ध स्रोत साधन र सम्पत्तिको समुचित उपयोग सुनिश्चित गर्नुपर्ने व्यवस्था भए पनि नगरपालिकाले उपकरण उपयोगको लगसिट, परिचालन अभिलेख तथा आय–व्यय विश्लेषण व्यवस्थित रूपमा नराखेको पाइएको छ।
यस्तै, नगरपालिकाले पदाधिकारी, कर्मचारी तथा सार्वजनिक निर्माण प्रयोजनका लागि इन्धनमा ठूलो रकम खर्च गरेको पाइएको छ। इन्धनतर्फ ४९ लाख २५ हजार रुपैयाँ र सवारी मर्मतमा ३६ लाख ९२ हजारभन्दा बढी खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ। यी सबै शीर्षक जोड्दा कुल खर्च ८६ लाख १८ हजार ५० रुपैयाँ पुगेको छ, जसमा आवश्यक अभिलेख र प्रतिस्पर्धात्मक प्रक्रिया पालना नभएको औंल्याइएको छ।
प्रतिवेदनमा इन्धन प्रयोग गर्ने व्यक्ति, सवारी साधन तथा प्रयोजन खुल्ने गरी अद्यावधिक अभिलेख नगरपालिकाले नराखेको उल्लेख गरिएको छ।
महालेखापरीक्षक को कार्यालयले उपकरण परिचालनमा कार्यविधि बनाएर आम्दानी वृद्धि गर्न, खर्चभन्दा बढी आय सुनिश्चित गर्न तथा लगानी र उपयोगको स्पष्ट विश्लेषण गर्नुपर्ने सुझाव दिएको छ।
प्रतिवेदनले उपकरण परिचालन, इन्धन र मर्मत सबै क्षेत्रमा देखिएको कमजोरीले नगरपालिकाको स्रोत साधन उपयोग, वित्तीय अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।