Radio Unity 92.2MHz

फेसबुकमा पत्रकारलाई लक्षित अपशब्द बढेपछि महासंघ डडेल्धुराको कडा आपत्ति

डडेल्धुरा: नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारलाई लिएर पत्रकार र पत्रकारिता क्षेत्रलाई लक्षित गर्दै सामाजिक सञ्जाल (फेसबुक) मा भइरहेको असभ्य, अमानवीय, अश्लील तथा अपशब्दयुक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक समाजमा पत्रकारिता अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाह र जनउत्तरदायित्वको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै समाचार संकलन तथा प्रकाशनका क्रममा पत्रकारमाथि हुने कुनै पनि प्रकारका धम्की, दुर्व्यवहार र दबाबका गतिविधि प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको जनाएको छ।

विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत पत्रकारलाई लक्षित गरी गरिएका अपमानजनक अभिव्यक्तिहरूको घोर भर्त्सना गरिएको छ। समाचारप्रति असहमति वा असन्तुष्टि भए कानुनी बाटो अवलम्बन गर्ने व्यवस्था हुँदाहुँदै पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने उद्देश्यले गरिने गतिविधि स्वीकार्य हुन नसक्ने महासंघको भनाइ छ।

महासंघले पत्रकारिता क्षेत्रमाथि आक्रमण गर्ने तथा दुर्व्यवहारमा संलग्न जोसुकै व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव भीमबहादुर खत्रीद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ।

 

सम्बन्धित पाेष्टहरु
Loading...