डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–८ डोलागाउँमा महिला कृषकहरूको आयआर्जन वृद्धि र व्यावसायिक कफी खेती प्रवर्द्धन गर्ने उद्देश्यले फिल्डस्तरीय एकदिने कफी खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ।
मंगलवार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा तथा किसान बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगमा सञ्चालन गरिएको तालिममा डोलागाउँका महिला कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
तालिममार्फत कृषकहरूलाई कफी खेतीको सम्भावना, बिरुवा उत्पादन, मल व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनका विषयमा व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले आलिताल क्षेत्र कफी उत्पादनका लागि उपयुक्त रहेको उल्लेख गर्दै कफी खेतीलाई गाउँपालिकाले प्राथमिकताका साथ अगाडि बढाउने बताए। उनले महिला कृषकहरूको सक्रियता र मेहनतले आलिताललाई कफी उत्पादनको नयाँ केन्द्रका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे।
विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावलले महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरताका लागि कृषि उद्यमको महत्वपूर्ण भूमिका रहेको बताइन्। उनले कफी खेतीलाई आयआर्जनको भरपर्दो माध्यमका रूपमा विकास गर्न स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, प्युठानका निमित्त कार्यालय प्रमुख एकराज संज्यालले पहाडी क्षेत्रमा कफी खेतीको बढ्दो सम्भावना र बजार मागबारे जानकारी गराउँदै गुणस्तरीय उत्पादनमार्फत किसानले राम्रो आम्दानी लिन सक्ने बताए।
किसान बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष टिकेन्द्रबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा आलिताल–८ का वडाध्यक्ष धनबहादुर देउवा, कार्यपालिका सदस्य कलावतीदेवी नाथ, सञ्चालक समिति सदस्य मनिराम न्यौपाने, संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाह, आलिताल प्रहरी चौकी प्रमुख कटकबहादुर बोहरालगायत जनप्रतिनिधि, सहकारीकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सहभागी महिला कृषकहरूले तालिमबाट प्राप्त ज्ञानले व्यावसायिक कफी खेती विस्तार गर्न थप हौसला मिलेको बताएका छन्। स्थानीयस्तरमा कफी उत्पादन बढाएर रोजगारी सिर्जना, आम्दानी वृद्धि र कृषि व्यवसायीकरणमा योगदान पुर्याउने विश्वासका साथ कार्यक्रम सम्पन्न भएको किसान बहुद्देश्यीय सहकारी संस्था आलिताल शाखाका फिल्ड सहायक विवेक विष्टले जानकारी दिए।
उनका अनुसार आलिताल क्षेत्रमा कफी खेतीको सम्भावना उजागर गर्दै आयोजित तालिमलाई स्थानीय कृषकहरूले कृषि रूपान्तरण र आर्थिक समृद्धितर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।



