Radio Unity 92.2MHz

अजयमेरु गाउँपालिकामा भोलिदेखि तेस्रो शैक्षिक सम्मेलन, तयारी पूरा

डडेल्धुरा: अजयमेरु गाउँपालिकामा भोलिदेखि दुईदिने तेस्रो शैक्षिक सम्मेलन–२०८३ आयोजना हुने भएको छ। गाउँपालिकाको आयोजनामा असार ६ र ७ गते सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।

‘शिक्षामा गरिने खर्च, खर्च होइन लगानी हो, शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनमा शिक्षा क्षेत्रका विविध समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल गरिने गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास)ले जानकारी दिए।

उनका अनुसार सम्मेलनमा गाउँपालिकाको १० वर्षे गाउँ शिक्षा योजनाको समीक्षा, एकीकृत पाठ्यक्रम तथा मूल्यांकन प्रणाली, अनिवार्य तथा निःशुल्क शिक्षा, अभिभावक शिक्षाको प्रभावकारी कार्यान्वयन, बालमैत्री सिकाइ तथा सुरक्षित एवं हरित विद्यालय निर्माणका विषयमा व्यापक छलफल हुनेछ। यस्तै, गुणस्तरीय र समावेशी सिकाइका लागि सूचना प्रविधिको उपयोग तथा शिक्षण सिकाइमा प्रविधिको भूमिकाबारे पनि विशेष सत्र सञ्चालन गरिने उनले बताए।

भद्रपुरमा हुने सम्मेलनमा जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले जानकारी दिए।

गाउँपालिकाले सम्मेलनमार्फत शिक्षा क्षेत्रका चुनौती, सम्भावना र सुधारका उपायबारे सरोकारवालाबीच साझा धारणा निर्माण गर्दै स्थानीय तहको शिक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। सम्मेलनबाट अजयमेरु गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि र दीर्घकालीन शिक्षा विकास योजनाको कार्यान्वयनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...