डडेल्धुरा: आलिताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २३औँ गाउँसभामा उपाध्यक्ष मैनाकुमारी रावल बोहराले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य तथा आर्थिक आत्मनिर्भरतालाई प्राथमिकतामा राखिएको बताइन्।
उपाध्यक्ष बोहराका अनुसार गाउँपालिकाले आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटमार्फत बजेट व्यवस्थापन गर्नेछ। आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट मात्रै १ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य निर्धारण गरिएको छ।
यद्यपि चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको आय–व्यय विवरणले बजेट कार्यान्वयनमा चुनौती देखाएको छ। ५३ करोड ६६ लाख १० हजार रुपैयाँको संशोधित बजेटमध्ये हालसम्म ४१ करोड ६६ लाख १० हजार रुपैयाँ आम्दानी भएको छ, जुन कुल बजेटको ७७.६३ प्रतिशत हो।
खर्चतर्फ भने जेठ मसान्तसम्म ३३ करोड ८९ लाख ४६ हजार रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल बजेटको ६३.१६ प्रतिशत हो। संघीय सरकारबाट प्राप्त हुने अनुमान गरिएको ३३ करोड १२ लाख ९० हजार रुपैयाँमध्ये २७ करोड १५ लाख ८५ हजार रुपैयाँ प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने अनुमान गरिएको ६ करोड २६ लाख ९३ हजार रुपैयाँमध्ये हालसम्म २ करोड १० लाख ६२ हजार रुपैयाँ मात्रै प्राप्त भएको छ। आन्तरिक स्रोततर्फ ९८ लाख ६९ हजार रुपैयाँ उठ्ने लक्ष्य राखिए पनि जेठ मसान्तसम्म ३६ लाख ८४ हजार रुपैयाँ मात्र संकलन भएको तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षमा अपेक्षाअनुसार बजेट खर्च र राजस्व संकलन हुन नसकेको अवस्थामा आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयन क्षमता वृद्धि, राजस्व परिचालन तथा विकास योजनाको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिइने गाउँपालिकाले जनाएको छ।
गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बोहराले ‘विकासमा सहभागिता, परिणाममा जवाफदेहिता’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै जलवायु परिवर्तन, युवा पलायन र उत्पादनशीलता न्यूनताजस्ता चुनौतीलाई अवसरमा रूपान्तरण गरी समृद्ध र आत्मनिर्भर आलिताल निर्माण गर्ने लक्ष्य लिइएको बताइन्।