डडेल्धुरा: प्राविधिक समस्याका कारण लामो समयदेखि अवरुद्ध रहेको डडेल्धुरा अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै प्राविधिक समस्या समाधान भएसँगै सिटी स्क्यान सेवा नियमित रूपमा सञ्चालनमा आएको जनाएको हो। अस्पतालले सम्पूर्ण सेवाग्राहीलाई आवश्यक स्वास्थ्य परीक्षणका लागि सेवा लिन अनुरोध गरेको छ।
सिटी स्क्यान सेवा बन्द हुँदा बिरामीहरूलाई तराईका जिल्लामा जानुपर्ने बाध्यता रहेको थियो। सेवा पुनः सुचारु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनका अनुसार अब सिटी स्क्यानसम्बन्धी सबै सेवा नियमित रूपमा उपलब्ध हुनेछ।