Radio Unity 92.2MHz

अजयमेरुको बजेटको आकार ४९ करोड ५ लाख [पूर्णपाठसहित]

डडेल्धुरा: अजयमेरु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ५ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाकी उपाध्यक्ष बसन्ती पालले बुधबार गाउँसभामा बजेट प्रस्तुत गर्दै कुल आय तथा व्यय बराबरको बजेट विनियोजन गरिएको जानकारी दिइन्। बजेटका लागि आन्तरिक राजस्व, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त, विशेष र समपूरक अनुदानलाई मुख्य स्रोतका रूपमा लिइएको छ।

प्रस्तुत बजेटअनुसार आन्तरिक राजश्वबाट ५० लाख रुपैयाँ, अल्याबाट २ करोड ५१ लाख १५ हजार रुपैयाँ, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ करोड ५० लाख रुपैयाँ तथा राजश्व बाँडफाँडबाट ८ करोड ५५ लाख ५६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै, संघीय सरकारबाट सशर्त अनुदान चालुतर्फ २२ करोड ७९ लाख रुपैयाँ र पुँजीगततर्फ ५० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ। प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७४ लाख ८५ हजार रुपैयाँ, राजश्व बाँडफाँड २६ लाख २५ हजार रुपैयाँ तथा सशर्त अनुदान १ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

त्यसैगरी प्रदेश सरकारबाट समपूरक अनुदान ९७ लाख ४१ हजार रुपैयाँ, विशेष अनुदान ६६ लाख ५० हजार रुपैयाँ, संघीय सरकारबाट विशेष अनुदान ७० लाख रुपैयाँ तथा समपूरक अनुदान ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

खर्चतर्फ चालु खर्च ९ करोड ८२ लाख ९६ हजार रुपैयाँ, विविध तथा पुँजीगत खर्च ११ करोड २४ लाख ८५ हजार रुपैयाँ र संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक तथा विशेष अनुदान कार्यक्रममार्फत हुने खर्च २७ करोड ९७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेट वक्तव्यमा स्थानीय सरकार गठन भएको नौ वर्षको अवधिमा हासिल भएका मुख्य उपलब्धिहरू पनि समेटिएका छन्। प्रत्येक नागरिकलाई आधा घण्टाको दूरीभित्र आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिएको, गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको, कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको तथा ऐतिहासिक अजयमेरुकोटको संरक्षण गरी विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल सुरु गरिएको उल्लेख गरिएको छ।

उपाध्यक्ष पालले गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणबाट प्राप्त सुझावलाई आधार बनाएर बजेट तयार गरिएको बताइन्। बजेटको प्रभावकारी कार्यान्वयनबाट सुशासन प्रवर्द्धन, सामाजिक सुरक्षा सुदृढीकरण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ र भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरिन्।

साथै, रोजगारीका अवसर सिर्जना, आर्थिक गतिविधिको विस्तार तथा नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकारका नीति, दिगो विकास लक्ष्य, सोह्रौँ आवधिक योजना र गाउँपालिकाको पञ्चवर्षीय योजनाका लक्ष्य हासिल गर्न बजेट सहयोगी बन्ने अपेक्षा गरिएको छ।

हेर्नुहोस् पूर्णपाठ– 

सम्बन्धित पाेष्टहरु
Loading...