Radio Unity 92.2MHz

रिटायर्ड शिक्षक झुकालको कृषि क्रान्ति : ७० रोपनीमा खेती र लाखौँ आम्दानी

  • प्रकाश पार्की

डडेल्धुरा: अधिकांश कर्मचारी र शिक्षकहरू सेवा निवृत्तिपछि आरामदायी जीवन बिताउने सोचमा हुन्छन्। तर डडेल्धुराका एक पूर्व प्रधानाध्यापकले भने अवकाशपछि खेतबारीलाई आफ्नो कर्मथलो बनाउँदै कृषि क्षेत्रमा उदाहरणीय सफलता हासिल गरेका छन्।

अमरगढी नगरपालिका–९ झुकाल गाउँका ६६ वर्षीय कमलसिंह झुकालले शिक्षण पेशाबाट अवकाश लिएपछि सुरु गरेको कृषि व्यवसाय आज जिल्लाकै नमुना कृषि फर्मका रूपमा परिचित बन्दै गएको छ। उनले अमरगढी नगरपालिका–८ आलीस्थित गाडलेक बहुउद्देश्यीय कृषि फर्म मार्फत व्यावसायिक खेती गर्दै लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन्।

भूमिराज प्राविका पूर्व प्रधानाध्यापकसमेत रहेका झुकालले करिब ७० रोपनी जमिन खरिद गरेर आधुनिक कृषि व्यवसाय सञ्चालन गरेका हुन्। जग्गा खरिद, सिँचाइ, पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापनमा गरी उनले हालसम्म करिब दुई करोड २० लाख रुपैयाँ लगानी गरिसकेका छन्।

उनले फर्ममा २५ रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी, २५ रोपनीमा फलफूल खेती तथा बाँकी जमिनमा पशुचौपायाका लागि घाँस उत्पादन गरिरहेका छन्। उत्पादनलाई वर्षभरि निरन्तरता दिन लिफ्टिङ प्रविधिमार्फत सिँचाइको व्यवस्था गरिएको छ।

पछिल्ला पाँच–छ वर्षदेखि व्यावसायिक कृषि गर्दै आएका झुकालले गत वर्ष मात्रै करिब २० लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए। सबै खर्च कटाएर करिब पाँच लाख रुपैयाँ बचत गर्न सफल भएको उनी बताउँछन्।

कृषि व्यवसायबाट आम्दानी मात्रै नभई स्थानीय युवाहरूलाई रोजगारीसमेत सिर्जना भएको छ। ‘अवकाशपछि खाली बस्नुभन्दा उत्पादनमूलक काम गरौँ भन्ने सोच आयो,’ झुकाल भन्छन्, ‘मेहनत गरे कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेछ।’

उनको कृषि यात्रालाई डडेल्धुरास्थित कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले निरन्तर साथ दिँदै आएका छन्। कृषि ज्ञान केन्द्रले पाँच सय बोट ओखर र एक सय बोट किबीका बिरुवा उपलब्ध गराएको छ।

बिहीवार कृषि ज्ञान केन्द्र डडेल्धुराले फर्मको संयुक्त अनुगमनसमेत गरेको छ। अनुगमनका क्रममा फर्ममा आधुनिक प्रविधिको प्रयोग, व्यवस्थित खेती प्रणाली र व्यावसायिक व्यवस्थापन सन्तोषजनक पाइएको जनाइएको छ।

सेवा निवृत्त जीवनलाई निष्क्रियताको पर्याय होइन, अवसरको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश झुकालले आफ्नो कर्मबाट दिएका छन्। उनी अहिले डडेल्धुराका मात्र होइन, कृषि क्षेत्रमा भविष्य खोजिरहेका युवापुस्ताका लागि पनि प्रेरणाका पात्र बनेका छन्।

  

सम्बन्धित पाेष्टहरु
Loading...