Radio Unity 92.2MHz

समयमै काम सक्ने निर्माण कम्पनीलाई डडेल्धुरामा सम्मान

डडेल्धुरा: विकास आयोजनाहरू समयमै सम्पन्न नहुने गुनासो बढिरहेका बेला डडेल्धुरामा निर्धारित समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने दुई निर्माण व्यवसायी सम्मानित भएका छन्।

पूर्वाधार विकास कार्यालय, डडेल्धुराले शुक्रबार एक कार्यक्रम आयोजना गरी सडक र पुल निर्माणको जिम्मेवारी समयमै पूरा गर्ने राजेन्द्र–तेज–दुनिला जेभी, धनगढी तथा सिद्धनाथ–जयभगवती जेभीलाई सम्मानपत्र प्रदान गरेको हो।

कार्यालय प्रमुख नवराज रावलले गुणस्तरीय निर्माणसँगै तोकिएको समयसीमाको पालना गर्दै आयोजना सम्पन्न गर्नु सकारात्मक उदाहरण भएको उल्लेख गर्दै दुवै निर्माण व्यवसायीको प्रशंसा गरे।

उनका अनुसार राजपुर–बोगटान–दिपायल सडकअन्तर्गत बासुदेवी–मडघर खण्डको २० किलोमिटर सडक निर्माणका लागि राजेन्द्र–तेज–दुनिला जेभीसँग २०८० चैत ३ गते सम्झौता भएको थियो। ७९ करोड २२ लाख रुपैयाँभन्दा बढी लागतको उक्त आयोजना २०८३ भदौ ३ गतेसम्म सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले समयमै काम पूरा गरेको कार्यालय प्रमुख रावलले जानकारी दिए।

त्यसैगरी, डोटीको बोगटान क्षेत्रमा रहेको २५ मिटर लामो टुडागाड सडक पुल निर्माणका लागि सिद्धनाथ–जयभगवती जेभीसँग २०८२ असार ३ गते सम्झौता भएको थियो। ५ करोड १५ लाख रुपैयाँभन्दा बढी लागतको उक्त पुल निर्माण कार्य पनि निर्धारित समयभित्र सम्पन्न गरिएको कार्यालयले जनाएको छ।

सम्मान कार्यक्रममा प्रमुख रावलले समयमै आयोजना सम्पन्न गर्ने संस्कृतिलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताउँदै आगामी दिनमा पनि निर्माण व्यवसायीहरूले गुणस्तरीय र जिम्मेवार कार्यसम्पादनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सम्बन्धित पाेष्टहरु
Loading...