डडेल्धुरा: डडेल्धुरा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय प्रगति हासिल गरेको छ। अदालतले वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्दै ९१.२१ प्रतिशत लगत फर्छ्यौट गरेको जनाएको छ।
अदालतका श्रेस्तेदार गणेशबहादुर विष्टका अनुसार आर्थिक वर्षको सुरुवातमा ४९ मुद्दाको जिम्मेवारी लगत रहेकोमा वर्षभर २४७ नयाँ मुद्दा दर्ता भएका थिए। यससँगै कुल मुद्दा संख्या २९६ पुगेको थियो।
उक्त अवधिमा अदालतले २७० मुद्दा फर्छ्यौट गरेको छ भने २६ मुद्दा मात्रै बाँकी रहेका छन्। अदालतको वार्षिक फर्छ्यौट लक्ष्य २१० मुद्दा रहेकामा २७० मुद्दा टुंग्याएर लक्ष्यको १२८.५७ प्रतिशत उपलब्धि हासिल गरेको श्रेस्तेदार विष्टले जानकारी दिए।
अदालतको तथ्यांकअनुसार दुई वर्षभन्दा बढी पुराना कुनै पनि मुद्दा बाँकी छैनन्। यस्तै १८ महिना नाघेका, एक वर्ष नाघेका मुद्दासमेत शून्य रहेका छन्। बाँकी रहेका २६ मुद्दामध्ये एक मुद्दा मात्र ६ महिना नाघेको छ भने २५ मुद्दा ६ महिनाभित्रका रहेका छन्।
लामो समयदेखि विचाराधीन मुद्दा शून्यमा झार्दै लक्ष्यभन्दा बढी फर्छ्यौट गर्न सफल भएकाले डडेल्धुरा जिल्ला अदालतले न्याय सम्पादनमा प्रभावकारी कार्यसम्पादन गरेको देखिएको छ।