Radio Unity 92.2MHz

डडेल्धुरामा बोलेरो जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

डडेल्धुरा: डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आज बिहान करिब २ बजे धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका–३ का ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा बैतडीको डिलासैनी गाउँपालिकाका-२ का २० वर्षीय चालक अमृत घडेरी घाइते भएका छन्।

घाइतेमध्ये ठगुन्नाको टाउकोमा चोट लागेको छ भने सरस्वतीको टाउको र कम्मरमा चोट लागेको बताइएको छ। चालक घडेरीको टाउको, अनुहार र छातीमा चोट लागेको छ। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिप्रका डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिएका छन्।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...