Radio Unity 92.2MHz

चार वर्षदेखि भात्काँडा–बडाल–रेल सडक अधुरो, स्थानीयले भोग्दै सास्ती

डडेल्धुरा: आर्थिक वर्ष २०७८/७९ मा ठेक्का सम्झौता भएको भात्काँडा–बडाल–रेल सडकको चार किलोमिटर खण्ड अझै कालोपत्रे हुन नसक्दा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिका–१ रुवाखोला जोड्ने उक्त सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ।

सडकको करिब नौ किलोमिटर भाग कालोपत्रे भए पनि भात्काँडा बजारदेखि अगाडिको चार किलोमिटर खण्ड अझै कच्ची अवस्थामै रहेको छ। वर्षायाममा हिलो र पहिरो तथा हिउँदमा अत्यधिक धुलोका कारण यात्रु, विद्यार्थी र स्थानीयवासीले दैनिक आवतजावतमा समस्या भोग्दै आएका छन्।

रुवाखोला क्षेत्रका किसानले उत्पादन गरेका तरकारी, दुग्धजन्य पदार्थ तथा पशुजन्य उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ भइरहेको स्थानीय रामचन्द्र जोशीको गुनासो छ। सडकको कमजोर अवस्थाका कारण ढुवानी खर्च बढ्नुका साथै कृषि उत्पादन समयमै बजारसम्म पुर्‍याउन नसकिएको उनले बताए।

स्थानीयका अनुसार निर्माण कम्पनीले पटक–पटक काम सम्पन्न गर्ने आश्वासन दिए पनि सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन। लामो समयदेखि काम अधुरो रहँदा यातायात सेवा, व्यापारिक गतिविधि र स्थानीय अर्थतन्त्रसमेत प्रभावित बनेको छ।

स्थानीयको निरन्तर दबाबपछि शनिबार प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीको उपस्थितिमा सरोकारवाला निकाय र निर्माण व्यवसायीसँग छलफल भएको छ। बैठकमा बाँकी रहेका पर्खाल तथा नाली निर्माण, पहिरो प्रभावित क्षेत्रको मर्मत तथा सबबेस र बेसको काम शीघ्र अघि बढाउने सहमति भएको बताइएको छ।

सडक डिभिजन कार्यालय डोटीका प्रमुख रमेश भट्टाराईका अनुसार निर्माण व्यवसायी एएनके–जोशी–मालिका जेभीले मौसम अनुकूल भएपछि कालोपत्रे कार्य सुरु गरी चालु आर्थिक वर्षभित्र बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। तोकिएको समयभित्र काम सम्पन्न नभए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने समेत सहमति भएको उनले बताए।

निर्माण कम्पनीका प्रतिनिधि बसन्त साउँदले पनि चालु आर्थिक वर्षभित्र सडक निर्माण सम्पन्न गरी स्थानीयको लामो प्रतीक्षाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर, विगतका अनुभवका कारण स्थानीयवासी भने यसपटक पनि प्रतिबद्धता कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा शंकित देखिएका छन्।

स्थानीयले भने पटक–पटक प्रतिबद्धता जनाइए पनि कामले गति नलिएको भन्दै यसपटक पनि प्रतिबद्धता कार्यान्वयन नभए थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...