Radio Unity 92.2MHz

गन्यापधुराका प्रमुख प्रशासकीय अधिकृत तामाङको सरुवा, राजबहादुर आउने

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङको सरुवा भएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बिहीबारको निर्णयअनुसार तामाङको गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको हो।

तामाङ २०७६ असोज ६ गतेदेखि गन्यापधुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। लामो समय एउटै स्थानीय तहमा रहेर काम गरेका तामाङ शालीन स्वभाव र कुशल प्रशासकका रूपमा परिचित थिए।

तामाङको सरुवासँगै गन्यापधुरा गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा कञ्चनपुरको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की आउने भएका छन्।

सार्की २०८० साउन ३२ गतेदेखि लालझाडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। मन्त्रालयको निर्णयअनुसार उनको सरुवा गन्यापधुरा गाउँपालिकामा गरिएको हो।

तामाङको लामो कार्यकालपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सार्कीले जिम्मेवारी सम्हाल्ने भएपछि गाउँपालिकाको प्रशासनिक नेतृत्व परिवर्तन हुने भएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...