Radio Unity 92.2MHz

डडेल्धुराको सरकारी सेवा प्रवाहलाई गुनासोरहित बनाउँछु : सीडीओ फुयाल

डडेल्धुरा: डडेल्धुराका नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) वेदराज फुयालले जिल्लामा सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सुधार गर्दै गुनासोरहित बनाउने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार पत्रकारसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा सरुवा भएका आएका हालै सीडीओ फुयालले आवश्यकता र सेवाग्राहीको अवस्थाअनुसार काम गर्दै सरकारी सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउने बताएका हुन्।

‘आवश्यकताअनुसार काम गर्छु। सरकारी कार्यालयको सेवा प्रवाहलाई थप सुधार गर्नेछु,’ उनले भने। सरकारी सेवामा हुने ढिलासुस्ती, भ्रष्टाचारलगायतका विकृतिविरुद्ध शून्य सहनशीलताको नीति अपनाएर काम गर्ने उनको भनाइ छ। सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य गर्दै प्रशासनिक सेवालाई सहज बनाउने उनले बताए।

जिल्लाको शान्तिसुरक्षा र कानुनको पालना गराउने विषयमा कसैसँग सम्झौता नगर्ने सीडीओ फुयालले बताए। शान्तिसुरक्षा कायम गर्न तथा कानुन कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ। उनले विपद् पूर्वतयारीका कामलाई पनि विशेष प्राथमिकता दिने बताए। विपद्का घटना हुनुअघि नै आवश्यक तयारी, समन्वय र व्यवस्थापनमा जोड दिइने उनले बताए।

विकास निर्माणका काममा सहजीकरण गर्दै समयमै आयोजना सम्पन्न हुने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ। विकास निर्माणका क्रममा देखिने समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम अघि बढाउने उनले बताए।

बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणलाई पनि प्राथमिकतामा राख्ने उनले बताए। कालोबजारी, कृत्रिम अभाव तथा उपभोक्तामाथि हुने ठगी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गरिने उनको भनाइ छ।

विशेषगरी जिल्लामा खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिने उनले बताए। डडेल्धुरामा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न सम्बन्धित व्यवसायी तथा निकायसँग समन्वय गरिने उनले बताए।

कार्यक्रममा सहभागी पत्रकारहरूहरूले जिल्लामा देखिएका विभिन्न समस्या, जनगुनासा, सेवा प्रवाह, बजार अनुगमन, विकास निर्माण, विपद् व्यवस्थापन र शान्ति सुरक्षालगायतका विषयमा सीडीओ फुयालको ध्यानाकर्षण गराएका थिए। यसका साथै सूचनामैत्री भइदिन आग्रह गरेका थिए।

सीडीओ फुयालले आफू र जिल्लास्थित कार्यालयका सूचना अधिकारीलाई सूचनामैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। उनले सूचनाको आधिकारिकता पुष्टि गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गरिदिन पत्रकारहरूलाई अनुरोध गरेका छन्।

जिल्लाको समग्र विकास, शान्तिसुरक्षा, सेवा प्रवाह तथा सुशासनका विषयमा प्रशासन र सञ्चारमाध्यमबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने उनको भनाइ थियो।

सम्बन्धित पाेष्टहरु
Loading...