डडेल्धुरा: डडेल्धुराका पाँचवटा स्थानीय तहमा नेपाल टेलिकमले १२ वटा नयाँ फोरजी टावर निर्माण गरिरहेको छ। जिल्लाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्क तथा सञ्चार सेवा विस्तार गर्ने उद्देश्यले टावर निर्माण अघि बढाइएको हो।
दूरसञ्चार कार्यालय डडेल्धुराका अनुसार नवदुर्गा गाउँपालिकामा दुई, अजयमेरु गाउँपालिकामा चार, भागेश्वर गाउँपालिकामा दुई, परशुराम नगरपालिकामा तीन र आलिताल गाउँपालिकामा एउटा टावर निर्माण भइरहेको छ।
कार्यालय प्रमुख रामदत्त पन्तका अनुसार नवदुर्गा गाउँपालिका–२ को बडम र वडा नम्बर ४ को डैसेल्लीमा टावर निर्माण भइरहेको छ। त्यस्तै, अजयमेरु गाउँपालिका–१ को खतेडा र बैडा शिवालय, वडा नम्बर २ को रोल्ली तथा वडा नम्बर ६ को खपडामा टावर निर्माण हुँदैछ।
यसैगरी परशुराम नगरपालिकाका वडा नम्बर २, ८ र ९, भागेश्वर गाउँपालिकाका वडा नम्बर १ र ४ तथा आलिताल गाउँपालिका–५ मा पनि नयाँ फोरजी टावर निर्माण भइरहेको पन्तले जानकारी दिए।
उनका अनुसार नवदुर्गा गाउँपालिका–४ को डैसेल्ली र अजयमेरु गाउँपालिका–१ को खतेडामा टावर निर्माण सम्पन्न भइसकेका छन्। ती स्थानमा केही दिनभित्रै सेवा सञ्चालन गर्ने तयारी छ। अन्य स्थानमा भने निर्माणको काम भइरहेको छ।
चालु आर्थिक वर्षभित्रै सबै १२ वटा टावर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ। नयाँ टावर सञ्चालनमा आएपछि नेटवर्कको पहुँच कमजोर भएका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई मोबाइल सेवा र इन्टरनेट प्रयोगमा सहजता हुने अपेक्षा गरिएको छ।
हेर्नुहोस् कहाँ–कहाँ बन्दैछन् टावर
