कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका शिक्षकको प्रतिभा पहिचान गर्नका लागि नृत्य प्रतियोगिता आयोजना गरिएको छ।
सोमबार महेन्द्रनगरमा शिक्षा विकास निर्देशनालय राजपुर दिपायल डोटीको आयोजनामा शिक्षकको प्रतिभा पहिचान गर्नका लागि नृत्य प्रतियोगिता आयोजना गरिएको हो।
उक्त प्रतियोगितामा कञ्चनपुर बेदकोट नगरपालिका–३ दैजीको वेदान्त विद्या मन्दिरका शिक्षकद्वय लालमणी जोशी, दिपीका खत्रीको टिम प्रथम भएको छ। उक्त टिमले सुदूरको पहिचान झल्किने टिपिकल गीतमा नृत्य गरेका थिए।
द्वितीय कैलाली अत्तरियाको सत्यवाती विद्यालयका शिक्षिका आशिका भट्ट, मनिसा लामिछाने, वर्षा विष्ट, पार्वती कडायत भएका छन्। तृतीयमा डोटीको रामपुर माविकी रश्मी श्रेष्ठ र सान्त्वनातर्फ भीमदत्त नगरपालिका–६ ऐँठपुरका नवराज भट्ट भए।
विजेताहरूले क्रमशः १५ हजार, १२ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान पाए। शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले शिक्षकहरुभित्र भएको पहिचान प्रर्दशनका साथै शिक्षकबाट विद्यार्थीले केही अनुसरणका लागि कार्यक्रम गरिएको बताए।
निर्णायक संयोजकसमेत रहेका शिक्षा विकास समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले शिक्षकहरुबीच हुने प्रतिस्पर्धाले थप शैक्षिक कार्यक्रम प्रभावकारी बनाउन सकिने बताए। प्रदेशका विभिन्न जिल्लाबाट शिक्षक सहभागगी भएका थिए।
आइतबार निर्देशनालयले विज्ञान, गणित, भाषा, संस्कृत साहित्य, संगीत तथा नृत्य र विशेषकलाबीच प्रतिस्पर्धा गराइएको थियो। कार्यक्रममा सहभागी लक्ष्मी माविका प्रद्यानाध्यापक प्रमानन्द नाथले शिक्षक, शिक्षकविचको प्रतिस्पर्धाले एकआपसमा चिनजानदेखि शैक्षिक कार्यक्रममा थप प्रभावकारीता आउने बताए।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शैक्षिक सुधारका साथै सुदूरपश्चिम प्रदेशका शिक्षकबीच गरिएको प्रतिस्पर्धात्मक कार्यक्रमले थप शैक्षिक कार्यक्रममा टेवा पुग्ने बताए। उनले आफूमा भएको कला विद्यार्थीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

