डडेल्धुरा: माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा डडेल्धुराको अजयेमरु गाउँपालिका–१ पुइलेकस्थित बाल कल्याण नमूना मावि प्राविधिक धारतर्फ जिल्लामा पहिलो भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको एसईईको नतिजाअनुसार प्राविधिक धारतर्फ बाल कल्याण माविका ३६.८४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा बाल कल्याण मावि प्राविधिक धारका १९ जना विद्यार्थी सहभागी भएका थिए। जसमा ७ ग्रेडेड र १२ ननग्रेडेड भएका छन्।
प्राविधिक धारतर्फ महेन्द्र मावि खलंगा दोस्रो भएको छ। महेन्द्र माविबाट ४८ जना परीक्षामा सहभागी भएकोमा १७ जना अर्थात ३६.१७ प्रतिशत उत्तीर्ण भएका छन्।
यसैगरी नवदुर्गाको वीर बलभद्र मावि कोटेली तेस्रो भएको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराले जनाएको छ। प्राविधिक धारतर्फ वीर बलभद्र माविबाट एसईई परीक्षामा २५ जना सहभागी भएका थिए। जसमा ६ जना अर्थात २४ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
समग्रमा प्राविधिक धारतर्फ जिल्लाबाट एसईईमा २६.८८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।
