Radio Unity 92.2MHz

डडेल्धुरामा दुईदिने शैक्षिक नीति अभिमुखीकरण कार्यक्रम सुरु

डडेल्धुरा: डडेल्धुरामा शिक्षा क्षेत्रमा नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन विद्यालय तथा स्थानीय तहका पदाधिकारीहरूलाई लक्षित गरी दुुईदिने शैक्षिक नीति अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

बुधवार शिक्षा विकास तथा समन्वय इकाइ, डडेल्धुराको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कार्यक्रमका सहज कर्ता राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेल्धुराका प्रमुख नारायणदत्त भट्टले गरे।

उनले शिक्षाको गुणस्तर अभिवृद्धि र नीतिगत व्यवस्थापनमा यस्ता अभिमुखीकरण कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

उनले नीति कागजमा मात्रै सीमित नभई व्यवहारमा उतार्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका हुने बताए। नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा डडेल्धुरा जिल्लाका सात स्थानीय तहका शिक्षा शाखा प्रमुखको सहभागिता छ।

कार्यक्रमका क्रममा सहभागीहरूलाई शैक्षिक नीति कार्यान्वयनका प्रभावकारी उपाय, वातावरणीय तथा सामाजिक व्यवस्थापन ढाँचा (इएसएम), शिक्षा क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायबारे प्रशिक्षण दिइने शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख खडकबहादुर महताले जानकारी दिए।

उक्त अभिमुखीकरण कार्यक्रममा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै सहभागीबीच समूहगत छलफल र अनुभव आदानप्रदान पनि हुने समेत बताएको छ। डडेल्धुरासहित सुदूरपश्चिमका विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रवाह गर्न नीति अभिमुखीकरण अपरिहार्य रहेको बताइन्छ। यस कार्यक्रमपछि सहभागीहरुले सिकेका कुरा आफ्ना विद्यालय र स्थानीय तहमा कार्यान्वयन गर्ने अपेक्षा समेत गरिएको छ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रमले सहभागीलाई शैक्षिक नीति र व्यवस्थापनमा आवश्यक ज्ञान, सीप र व्यावहारिक दृष्टिकोण प्रदान गर्ने आयोजकको विश्वास छ  उक्त कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्राविधिक सहायक गोपालदत्त पाण्डेले गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...