Radio Unity 92.2MHz

कार्यसम्पादन मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डडेल्धुरा प्रदेशमै प्रथम

डडेल्धुरा: स्वास्थ्य कार्यक्रमका सूचकाङ्कहरूको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशमा प्रथम स्थान हासिल गरेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य कार्यालयहरूबाट आर्थिक वर्ष २०८१/८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमका सूचकाङ्कहरूको मूल्याङ्कनमा उत्कृष्ट प्रगति हासिल गरेर स्वास्थ्य कार्यालय डडेल्धुरा प्रथम भएको हो।

८५.२० अंक ल्याउँदै प्रदेशमै पहिलो भएको स्वास्थ्य कार्यालय डडेल्धुरालाई स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले सम्मान गरेको छ। आइतवार आयोजित आव २०८१/८२ एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्रबहादुर बमले स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँदलाई प्रथम भएको प्रमाणपत्र प्रदान गरे।

यो उल्लेखनीय उपलब्धि हासिल गर्न अहोरात्र खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा सरकारी–गैरसरकारी साझेदार संस्थाहरूलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई स्वास्थ्य कार्यालय डडेल्धुराले धन्यवाद ज्ञापन गरेको छ।

सबैको निरन्तर सहयोग, समर्पण र सकारात्मक सहकार्यकै कारण यो सफलता सम्भव भएको कार्यालयका प्रमुख साउँदले बताए। सो मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डोटी दोस्रो र स्वास्थ्य कार्यालय कैलाली तेस्रो भएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...