Radio Unity 92.2MHz

नवदुर्गामा ‘शिक्षा र संरक्षणमा समुदायको नेतृत्व’ परियोजनाको अनुगमन

डडेल्धुरा: लु निभाः बाल सरोकार समूह डडेल्धुराको ‘शिक्षा र संरक्षणमा समुदायको नेतृत्व’ परियोजनाअन्तर्गत गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिले नवदुर्गाका दुई विद्यालयको अनुगमन गरेको छ।

समितिले बुधवार नवदुर्गा गाउँपालिका–१ गौनेलास्थित सरस्वती आधारभूत विद्यालय र सुनकोटस्थित भैरव प्राथमिक विद्यालयको अनुगमन गरेको हो। संस्थाका जिल्ला कार्यक्रम संयोजक धर्मसिंह ऐरका अनुसार अनुगमनका क्रममा परियोजनामार्फत भएका गतिविधि, त्यसको प्रभावकारिता मूल्याङ्कन गर्दै आवश्यक सुझाव संकलन गरिएको छ।

सरस्वती आधारभूत विद्यालयकी प्रधानाध्यापक सुदुमाकुमारी जोशीले लु निभाःको सहयोगमा शिक्षा र बाल संरक्षणका क्षेत्रमा निकै राम्रो र प्रभावकारी काम गरिरहेको भन्दै प्रशंसा गरिन्। लु निभाःले विद्यालयका विद्यार्थीलाई झोला, कापिकलम, पोशाकलगायतका शैक्षिक सामग्री सहयोग गरेको उनले जानकारी दिइन्।

‘लु निभाःले विद्यालयमा बालअधिकार, बालसंरक्षण, बाल क्लब गठन, बालमैत्री वातावरण सिर्जना, सिकाइ सामग्री वितरण तथा अभिभावक आयआर्जनसम्बन्धी गतिविधिमा समेत सहयोग गर्दै आएको छ,’ उनले भनिन्, ‘यी पहलहरूले शिक्षा अधिकार र बाल संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान पुगेको छ।’ उक्त विद्यालयमा हाल ५३ जना विद्यार्थी अध्ययनरत छन्।

अनुगमन कार्यक्रममा सहभागी नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले विद्यालयको शैक्षिक प्रगतिका लागि गाउँपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले सरस्वती आविको भवन आगामी दिनमा मर्मत गरिने स्पष्ट पार्दै पढाइ र नतिजा सुधारमा विशेष ध्यान दिन शिक्षकहरूलाई निर्देशन दिए।

गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी विष्टले शिक्षकहरूलाई कर्मनिष्ठ भएर काम गर्न आग्रह गर्दै जसरी भएपनि शैक्षिक नतिजा सुधार्नुपर्नेमा जोड दिइन्। सुनकोटस्थित भैरव प्राविका प्रधानाध्यापक चक्रबहादुर बोहराले लु निभाःको सहयोगले शैक्षिक सुधारमा केही हदसम्म सहयोग भएको बताए। उनका अनुसार हाल विद्यालयमा १२९ जना विद्यार्थी अध्ययनरत छन्।

बालमैत्री कक्षा सञ्चालन गरी पठनपाठन भइरहेको उनले बताए। कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षासमेत सञ्चालन गरिएको उनले जानकारी दिए।

उनले परियोजनाले आगामी दिनमा बढीभन्दा बढी विद्यार्थी लाभान्वित हुने गरी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिए।

गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिले विद्यालयमा शैक्षिक सुधारमा थप जोड दिनुपर्ने, विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरण सिर्जना गर्नुपर्ने तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याएको छ।

‘शिक्षा र संरक्षणमा समुदायको नेतृत्व’ परियोजना नवदुर्गा गाउँपालिका–१ र २ तथा भागेश्वर गाउँपालिकाको ४ र ५ नम्बर वडाका विद्यालयमा लागू छ।

सम्बन्धित पाेष्टहरु
Loading...