Radio Unity 92.2MHz

आलिताल गाउँपालिकाले पनि ‘नगर प्रहरी’ भर्ना गर्ने

डडेल्धुरा: आलिताल गाउँपालिकाले पनि नगर प्रहरी नियुक्त गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको शान्ति–सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आन्तरिक राजस्व उठाउने उद्देश्यले नगर प्रहरी राख्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए।

उनका अनुसार मंगलबार सम्पन्न गाउँपालिकाको २१औँ गाउँसभाबाट पाँचजना नगर प्रहरी आन्तरिक श्रोतबाट तलब खुवाउने गरी करार सेवामा राख्ने प्रस्ताव बहुमतले पारित भएको छ।

निर्णयअनुसार एक जना नगर प्रहरी सहायक निरीक्षक र चार जना नगर प्रहरी जवान नियुक्त गरिनेछ। गाउँपालिकाका प्रवक्ता योगेन्द्रबहादुर देउवाले शान्ति सुरक्षा कायम राख्न,सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न पनि कार्यपालिकाबाट भएका निर्णयहरूलाई ‘क्रियटिभ’ ढङ्गले कार्यान्वयन गर्न तथा प्राकृतिक प्रकोप र विपद्का बेला तत्काल परिचालन गर्न नगर प्रहरी आवश्यक देखिएको बताए ।

 

उक्त प्रस्ताव वडा नम्बर १ का अध्यक्ष देउवाले पेश गरेका थिए। प्रस्तावमाथि सभामा व्यापक छलफल भएपनि वडा नम्बर २ का अध्यक्ष प्रमोदबहादुर मल्लले असहमति जनाउँदै सभाकै बीचबाट बाहिरिएका थिए। अन्य गाउँसभा सदस्यहरूले भने ताली बजाउँदै उक्त प्रस्ताव पारित गरेका थिए।

उक्त निर्णयमा असहमति जनाएका वडाध्यक्ष मल्लले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नगर प्रहरी नियुक्ति तथा छाडा गाईभैंसी व्यवस्थापनसम्बन्धी प्रस्ताव बहुमतका आधारमा एकल ढङ्गले पारित गरिएकोप्रति आपत्ति जनाएका छन्। उनले जनताको आधारभूत आवश्यकता बेवास्ता गर्दै निर्णय गरिएको दाबी गर्दै बहुमतको नाममा मनपरी गर्न नहुने चेतावनी दिएका छन्।

उनले पालिकामा यसअघि नियुक्त गरिएका कर्मचारीहरू कहाँ छन् र के काम गरिरहेका छन् भन्ने स्पष्ट तथ्यांकसमेत नभएको अवस्थामा नगर प्रहरीको नाममा अन्धाधुन्ध कर्मचारी थप्नु उपयुक्त नहुने उल्लेख गरेका छन्। भएका कर्मचारी तथा नेपाल प्रहरीको उचित व्यवस्थापन गरे नगर प्रहरीको काम पनि त्यहीँबाट सम्भव हुने उनको भनाइ छ।

जिल्लाका सदरमुकामको अमरगढी नगरपालिका र भित्रीमधेशको परशुराम नगरपालिकाले यसअघि नै नगर प्रहरी राखिसकेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...